post-slider post-slider

समातिए ‘लिटल बुद्ध’ बमजन

Image
A A

काठमाडौं- ‘लिटल बुद्ध’ भनेर चिनिने रामबहादुर बमजन पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बमजनलाई काठमाडौंको बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।

यौन हिंसा, हत्या र मानिसहरु बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बमजनलाई ७७ वटै जिल्लाका प्रहरीले केही वर्षयतादेखि खोजी गर्दै आएको थियो।

सिआइबीका प्रवक्ता नवराज अधिकारीले आश्रममा बस्दा त्यहाँ काम गर्ने विभिन्न युवतीलाई शोषण गरेको, बेपत्ता गराएकोलगायतका आरोप बमजनमाथि रहेको बताएका छन्।

धेरै ठाउँबाट जाहेरी परेकाले जाहेरी विवरण जुटाउने काम भइरहेको बताउँदै उनले जहाँबाट जाहेरी परेको छ त्यहीँबाट कानुनी प्रक्रियाबमोजिम मुद्दा चल्ने जानकारी दिए।

पक्राउ र उनीमाथि लागेका अभियोगसम्बन्धी विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने सिआइबीको तयारी छ।

बाराको एकान्त वनमा एक ठूलो पिपल बोटमुनि ध्यान गरिरहेका कलिला बमजनले २०६१ सालमा एकाएक चर्चा बटुलेका थिए।

१६ वर्षीय बमजनले जंगलमा ध्यान गर्न सुरु गरेका थिए। त्यसयताका वर्षमा उनी विभिन्न विवादमा जोडिन थाले।

पाँच वर्षअघि सिन्धुपाल्चोकस्थित उनको आश्रम गएका अनुयायीहरु त्यहाँबाट नर्फिएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका मुद्दामा प्रहरीले छानबिन थालेको थियो।

प्रहरीले सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालेका थियो।

२०१७१ चैत १४ गतेदेखि सम्पर्कविहीन भएका एक किटानी जाहेरीपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान सुरु गरेको थियो।

तर, सर्लाही जिल्ला अदालतले उनीविरुद्ध परेका अभियोगबारे अनुसन्धान अघि बढाउन बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजतलास तीव्र पारिएको थियो।

बारा, सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा उनका आश्रम थिए।

बमजनआवद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म १९१९ अप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो।

उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो।

उनका आमाबुबाका ९ सन्तान छन्। उनी साहिँला छोरा हुन्।

उनका परिवार, साथीभाइ र अनुयायीले बमजन ६ महिनासम्म पानी पनि नपिएर ध्यानमा लीन भएको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने दाबी गरेका थिए।

उक्त विवरणअनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयहरुले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए।

उनलाई खासगरी केही अन्तर्राष्ट्रि सञ्चारमाध्यले ‘लिटल बुद्ध’ को उपनाम दिएका थिए।

तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिरह्यो।

१६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलोपटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भएको बताइन्छ।

तपस्यामा रुचि र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरुको भिड लाग्ने गथ्र्यो।

अनुयायीहरुले बिस्तारै उक्त क्षेत्रलाई धार्मिक ध्वजापताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।

नेपालमा मात्र नभएर विश्वव्यापी रुपमै चर्चा बटुल्न सफल उनी यति चर्चित भए कि उनले निकै कम समयमा सामान्य बुद्धभक्त चर्चित तपस्वीको भेष धारण गरे।

देशका विभिन्न ठाउँहरुमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरुको संख्यासमेत क्रमिक रुपमा बढाउँदै लगे।

 

Tags: