post-slider post-slider

रामकुमारीको बोलिले हल्लिएको एनआरएनए

Image
A A

काठमाडौं- पूर्वमन्त्री तथा एकीकृत (नेकपा समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली (एनआरएन) हरूबारे दिएको अभिव्यक्तिबारे अहिले विभिन्नखाले टिप्पणीहरू भइरहेका छन्।

सामाजिक सञ्जालहरूमा अधिकांश झाँक्रीले एनआरएनबारे दिएको अभिव्यक्तिको समर्थनमा उत्रिएका छन् भने केतिपयले आलोचनासमेत गरेको पाइएको छ।

काठमाडौंमा जारी एनआएरएनएको विश्व सम्मेलनका क्रममा उनले मञ्चबाट ‘आक्रोशित भावमा’ दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको छ।

एनआरएनएको कार्यक्रममा एक जना सहभागीले मञ्चमा रहेका नेताहरूको आलोचना गर्दै सोधेको प्रश्नको उत्तरमा झाँक्रीले यस्तो अभिव्यक्ति दिएकी थिइन्।

त्यसक्रममा मञ्चबाट बोलिरहेकी उनी र दर्शकदीर्घामा रहेका केही व्यक्तिबीच सवालजबाफ भएको एनआरएनएको आधिकारिक पेजमा पोस्ट भएको भिडियोमा देखिन्छ।

यो विवाद हालै सरकारले दिन सुरू गरेको एनआरएन नागरिकता र त्यस्ता नागरिकले राजनीतिक अधिकार नपाउने व्यवस्थाका सम्बन्धमा भएको हो।

एनआरएनका नेताहरूले झाँक्रीको अभिव्यक्तिबारे टिप्पणी नगर्ने बताएका छन्। तर, एनआरएनले राजनीतिक अधिकारसहितको नागरिकता पाउनुपर्ने आफूहरूको अडान रहेको स्पष्ट पारेका छन्।

भिडियोमा झाँक्रीले उनी बोल्नुअघि सहभागीले सोधेको प्रश्नको जवाफ दिएको देखिन्छ।

उनले बोल्नुअघि एक जना सहभागी व्यक्तिले मञ्चमा बसेका नेपालीसहित एनआएन नेताहरूको आलोचना गरेका छन्।

ती सहभागीले आफूहरू देशको अवस्थाले पैसा कमाउन विदेश जानु परेको र आफूहरूले वंशजको नागरिकता नै पाउनुपर्ने बताएका छन्।

उनले एनआरएन नागरिकता दिएका विदेशमा बस्ने नेपालीको मानवअधिकार हनन् गर्न नपाउने र नेपालीलाई अनागरिक बनाउन नमिल्ने तर्क गर्छन्।

ती सहभागीले हालै दिन सुरू गरिएको एनआरएन नागरिकतालाई ‘कागजको खोस्टो’ र एनआरएनका अध्यक्ष कुल आचार्यलाई ‘तपाईं फाँसीमा चढ्नुपर्ला’ भनेको पनि भिडियोमा देखिन्छ।

त्यसको जवाफ दिँदै झाँक्रीले एनआरएन नागरिकता दिएपछि ‘औँलो दिँदा डुडुलोसम्म छिराउने मामिला’ त्यो हामीलाई थाहा थियो र त्यो हुँदैछ भन्ने बताउँछिन्।

झाँक्रीले भनिन्,‘पहिले हामी नेपालीले विदेश जान केके हर्कत ग¥यौं? त्यो देशको आइएलआर वा ग्रीन कार्ड पाउन केके हर्कत ग¥यौं? आफ्नो नागरिकता त्यागेर, पासपोर्ट त्यागेर।’

उनले देशको नागरिकता त्यागिसकेपछि पनि पैसा र दक्षता ल्याएर देशमा केही गर्ने आशामा एनआरएन नागरिकता दिएको बताइन्।

झाँक्रीले हरेक देशको नागरिकतासम्बन्धी कानुन त्यो देशको विशिष्टतामा आधारित हुने र नागरिकतासम्बन्धी अधिकार विश्वव्यापी नहुने स्मरण गराएकी छन्।

उनले खुसीले नागरिकता त्यागेकाहरूले दश मन नलाग्दा एनआरएन नागरिकता नलिँदा पनि हुने तर्क गरेकी छन् भने विदेशमा बसेर देशको राजनीतिक अवस्थाबारे बारम्बार गरिने आलोचनाप्रति पनि आपत्ति जनाएकी छन्।

झाँक्रीले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता एनआरएनहरूले पाउने तर मतदानको अधिकारसहितको नागरिकता कुनै पनि हालतमा सम्भव नभएको बताइन्।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले एनआरएनएले राजनीतिक अधिकारसहितको नागरिकता चाहिन्छ भन्ने अडान पहिलेदेखि नै राख्दै आएको र त्यो अहिले पनि कायम रहेको बताएका छन्।

राजनीतिक अधिकारसहितको नागरिकता चाहिन्छ भन्ने एनआरएनको आधिकारिक धारणा रहेको बताउँदै उनले यसो भन्दैमा अहिले नलिने भन्ने नभएको जिकिर गरे।

केसीले राजनीतिक अधिकारसहितको नागरिकताका लागि आफूहरूले सरकारी निकायसँग पहल गर्ने बताए।

उनले नेपाली नेताहरूले नबुझेरमात्र एनआरएनएलाई मत हाल्नेलगायतका राजनीतिक अधिकारसहितको नागरिकता दिनु हुँदैन भन्ने गरेको आरोप लगाए।

नागरिकताको मुख्य मान्यता भनेकै राजनीतिक अधिकार भएकाले त्यो एनआरएनएले पनि पाउनुपर्ने उनको भनाइ छ।

नेपालको संविधान र कानुनले एनआरएनलाई राजनीतिक अधिकारसहितको नागरिकता दिने कल्पना नगरेको जानकारहरूको भनाइ छ।

राजनीतिक अधिकार पाउनका लागि एनआरएनले विदेशमा लिएको नागरिकता त्याग्नुपर्ने उनीहरूको भनाइ छ।

‘उहाँहरूलाई अहिले पनि राजनीतिक अधिकार छ तर त्यसका लागि विदेशमा लिएको नागरिकता छोडेर आउनुप¥यो,’ पूर्व महान्यायाधिवक्ता रमेश बडाल भन्छन्,‘त्यसको उदाहरण त अहिले माननीय बन्नुभएका रवि लामिछाने नै हुनुहुन्छ।’

एनआरएनले खोजेको राजनीतिक अधिकारसहितको नागरिकता दाहोरो नागरिकताको वर्गमा आउने उनको भनाइ छ।

उनी भन्छन्,‘त्यसो हुने बित्तिकै अहिले सार्कबाहिरका नेपाली भनिएको छ, भोलि भारतमा बस्ने प्रवासी भनिएला, हाम्रो देशको भूराजनीतिक अवस्थाका कारण पनि यो भोलि संकट निम्त्याउने खालको हुनसक्छ।’

२०७२ सालमा जारी भएको नयाँ संविधानले गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ।

गत जेठमा बनेको त्यस्तो नागरिकता दिने कानुनले पनि धेरै कुरा स्पष्ट गरेको छैन। तर, यस्तो नागरिकता वितरण यसै सातादेखि सुरू भएको छ।

संशोधित नागरिकता ऐनमा ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजका बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ व्यवस्था छ।

यो कानुनी व्यवस्थाअनुसार विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नातिनातिनासम्मले गैरआवासीय नेपाली नागरिकता पाउँछन्।

नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने नियम छ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारीबाट सपथ लिनुपर्ने नियम छ।

सपथमा ‘मैले नेपालको संविधान र प्रचलित कानुनबमोजिम गैरआवासीय नेपाली नागरिकतालाई प्राप्त अधिकारबाहेक अन्य कुनै पनि अधिकार उपभोग गर्ने छैन भनी यो प्रतिबद्धता व्यक्त गर्दछु’ भन्ने प्रतिबद्धता जनाउनुपर्ने ढाँचा तयार गरिएको छ।

यस्तो नागरिकता लिएका व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहितविपरित कार्य गरेको ठहरेमा सरकारले सम्बन्धित व्यक्तिको गैरआवासीय नागरिकता रद्द गर्न सक्ने कानुनी व्यवस्थासमेत छ।

 

Tags: