post-slider post-slider

गुलशनको विस्फोटक ब्याटिङ, नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

Image
A A

काठमाडौं- टि–२० विश्वकप एसिया छनोट प्रतियोगिताको फाइनलमा नेपालले ओमानसामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले  यो लक्ष्य प्रस्तुत गरेको हो।

नेपालले निर्धारित २० ओभरमा  ६ विकेट गुमाएर १८४ रन बनायो।

खराब सुरूवात गरेको नेपालका लागि गुलशन झाले विस्फोटक ब्याटिङ गरे।  ५४ रन बनाएका गुलशनले २० बलमै आफ्नो अर्धशत पूरा गरेका थिए।

२५ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै कप्तान रोहित पौडेलले ३७ बलमा ५२ रन बनाएर नटआउट रहे।

ओपनर कुशल भुर्तेल ३१ रन बनाएर आउट हुँदा अर्का ओपनर आशिफ शेखले जम्मा ६ रन जोडे।

त्यस्तै सन्दीप जोरा १० र कुशल मल्ल ३ रनमा आउट भए। करण केसीले ६ बलमा २० रन बनाए।

ओमानविरूद्ध फाइनल खेलिरहेका नेपाल सामू बदला लिने अवसर रहेको छ। लिगचरणको अन्तिम खेलमा ओमानले नेपाललाई ५ रनले पराजित गरेको थियो। र, ओमान समूह विजेता बनेको थियो भने नेपाल उपविजेतामा सीमित भयो।

त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हेर्न दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ। 

शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो क्षति भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यो खेलबाट टिकट बिक्रीबाट उठेको ५० प्रतिशत रकम भूकम्पपीडितलाई दिने घोषणा गरेको छ।

भूकम्पको शोकमा नेपाली खेलाडी कालोपट्टी बाँधेर खेलिरहेका छन्।

फाइनलमा पुगेसँग नेपाल र ओमान आगामी २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकपका लागि छनोट भइसकेको छ। नेपाल दुई दशकपछि टि–२० विश्वकपका लागि छनोट भएको हो।

यसअघि नेपालले सन् २०१४ मा टि–२० विश्वकपमा भाग लिएको थियो। त्यसयता भएका टि–२० विश्वकपमा नेपाल छनोटमा पर्न सकेको थिएन।

 

Tags: