‘सजाय मिनाहाको कुरा नहुने भए सयौंको राजनीतिको भ्रुण हत्या उहिल्यै भइसकेको हुन्थ्यो
कैद मिनाहा र आम माफी बक्सिनु र दिइनुे हाम्रो लामो इतिहास छ। अपराध र क्रान्तिको परिणामलाई कसरी निरूपण गर्ने? यही द्विविधासंगै हिँडेको छ यो इतिहास।
संसारलाई परिवर्तन गर्ने हरेक आन्दोलनका सफल अगुवाहरू क्रान्तिकारी कहलिएका छन्। जो असफल भए तिनी अपराधी भए। तिनलाई उन्मुत्ति दिइनु हुन्न भनिन्छ।
एमालेका रत्न वान्तवा पञ्चायतकालमा अपराधी सरह मारिए। उनीसँगै लागेकाहरू पछि माफी पाए, अहिले राज्य भएका छन्।
गिरिजा प्रसाद कोइराला, सुशील कोइरालाउपर राज्य विरूद्धको अपराध, विमान अपहरणको मुद्दा थियो। विमान अपहरणको मुद्दा चक्र बास्तोलासमेतका उपर भारतमा पनि थियो।
चक्र बास्तोलालाई ०४८ तिर भारतका लागि राजदूतमा नियुक्त गरिएपछि सोही मुद्दाका कारण भारत सरकारले एग्रीमो पठाएन। गणेशमान सिंहलाई भारतका राष्ट्रपतिले दक्षिण एसियाका गान्धी भनेका थिए। कांग्रेस कै चक्र बास्तोला त्यतिन्जेल फौजदारी अपराधका अभियुक्त थिए भारतमा।
राजा बीरेन्द्रबाट नपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शम्सेर जबरालगायत सैयौंलाई आम माफी दिइएको थियो।
सुवर्णजीले नेपाली कांग्रेसको नेतृत्व गर्दै २०१८ सालमा राजाका विरूद्ध सशस्त्र विद्रोह चलाएका थिए। कैयौं सेना पुलिसको हत्या भयो।
चितौनमा सेनाले पनि दर्जनौं कांग्रेसीलाई जिउँदै पुरेर मारेका थिए। ती अदना मानिसहरू थिएनन्। बखान सिंह गुरूङका छोराहरू मारिए, पुरिए। जगतजंग प्रकाश कुनै बेनामी मानिस थिएनन्, महान व्यक्तित्व बालकृष्णन समका ज्वाइँ, छोरी रश्मीका पति थिए। सेनाले यिनलाई हत्या गरेर खाल्डो खनी पुरेका थिए।
रामराजाप्रसाद सिंहलाई मुलुकको सर्वाेच्च नागरिक पदक दिइयो। पदकको नाम मलाई याद भएन। कुनै समय, पञ्चायतको शासनमा, ०४२ तिर राष्ट्रिय पञ्चायतको भवनमा, राज परिवार संलग्न रहेको होटेल अन्नपुर्णमा कैयौं बम विष्फोट गराएका थिए। कैयौं मानिसको ज्यान गयो।
त्यस विषयमा मेरा समकक्षी साथीहरू साकेतचन्द्र मिश्र, हरि भुजेल झोलहरू आज पर्यन्त बेपत्ता छन्। डा. लक्ष्मीनारायण झालाई थुनामा नै मारियो, सँगै यातना भोगेका जनकपुरका युगलकिशोर कर्ण आज पनि कहाली लाग्दो संस्मरण सुनाउँन छन्। गणेश साहजी अहिले माओवादी पार्टीका एक बौद्धिक नेताको रूपमा त्यस घटनालाई याद गर्दा हुन्।
यस बम काण्डका कारण रामराजाप्रसाद सिंहलाई मृत्यूदण्ड सुनाइयो। सर्वाेच्च अदालतले सदर गर्यो। रामराजाप्रसाद सिंह, उनका भाइ लक्षमणप्रसाद सिंहलाई मृत्यदण्डका साथ सर्वस्व हरण गरियो।
करौडौं करोडको सप्तरी र सिरहाका जग्गाहरू सरकारले कब्जा ग¥यो। मुलुकमा संसदीय प्रजातन्त्र आयो, कृष्ण्रसाद भट्टराई प्रधानमन्त्री भएपछि पनि आममाफी दिइएन। बरू नेपाल मै जेल बस्छु तर मुलुक फर्कन्छु भनी अड्डी लिँदा पनि भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरले फर्कन प्रतिबन्ध लगाए।
फलतः मुलुकमा बहुदल पुनस्थापित भए पनि रामराजाप्रसाद सिंह पहिलो आम निर्वाचनमा सहभागी हुन पाएनन्। त्यो निर्वाचनमा रामराजा सिंहको पार्टीले भाग लिएको भए मधेस क्षेत्रमा नेपाली कांग्रेसलाई नोक्सान पुग्ने थियो– गुह्य जानकारी राख्नेहरू यसैलाई कारण बताउँछन्।
सिके प्रसाई नेपाली कांग्रेसका अद्वितीय प्रकारका नेता थिए, भूबिक्रम नेम्वाङ झैं। अनेकन फौजदारी अभियोगका कारण भारतमा निर्वासित थिए। राजाबाट आममाफी पाएरमात्र नेपाल फर्किन पाए।
सोचौं, यदि सिके प्रसाई, रामबाबु प्रसाई, भूबिक्रम नेम्वाङ, मच्छेन्द्र केरूंग, गोपाल राई, तुर्सा हेमरम जस्ता ठूला नेताहरू जो कुनै समय विभिन्न फौजदारी अभियोगमा आरोपित रहेर भारतमा निर्वासित रहनु परेको थियो–यदि आममाफी न दिइएको भए के हुन्थ्यो?
अहिले चरण प्रसाईजी याद गर्दैनन्। तर, नेपाली कांग्रेसका ठूला नेता रामबाबु प्रसाई उपर त गौ हत्या कै मुद्दा चलाइएको थियो। रामबाबुले अदालत मै मुद्दा कबुलेका थिए। अदालतले त सजाय नै तोकेको थियो।
यदि राजनीतिमा माफी मिनाहाको कुरा नहुने भए यतिन्जेलसम्म मुलुकका प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनका सयौं रामबाबु प्रसाई तथा मोहनचन्द्र अधिकारीहरूको राजनीतिको उहिल्यै भ्रुण हत्या भै सकेको हुन्थ्यो।
जन्म कैदको सजायमा जेल रहेका बालकृष्ण ढुंगेल यसअघि कैद मिनाहामा रिहा भए। एमालेले यसलाई मन पराएन, लगत्तै उनी एमालेमा प्रवेश गरे,त्यहाँका नेता भए।
फेरी एमालेले कहिले पनि कैद मिनाहाको आलोचना गरेन। राजाको शासनमा दरवारका किचलोका कारण कयौंका उपर गम्भीर फौजदारी अभियोगमा मुद्दा चलाइयो।
थुनियो, जेल परे, अदालतले, सैनिक अदालतले सजायलाई अनुमोदन गर्यो।
यसै मध्येका पूर्वप्रहरी आईजिपी डिबी लामा बहुदल आएपछि माफी पाए। अरूहरूले पनि माफी पाए। डिबी लामा त सांसद पनि भए। कति लामो कथाकथु हजुरहरू!
रेशम चौधरी संलग्न रहेको भनिएको टीकापुर बारदातका बारेमा सत्यतथ्य आउनै बाँकी छ, आउला। मैले जाने बुझेसम्म त्यस घटना पछि ‘स्ट्रीट ट्रायल’ को आधारमा प्रहरीले अनुसन्धान ग¥यो।
प्रहरी स्वयं त्यस बारदातको एक पक्ष हो। प्रतिशोधी पक्ष। मुद्दा दायर भयो, सर्वाेच्च अदालतसम्मले रेशमलाई दोषी करार ग¥यो। अहिले सरकारले कैद मिनाहाका साथ माफी दियो। समाज तरंगित भएको छ।
भारतका पूर्वप्रधानमन्त्री राजीव गांधीको हत्या भयो। यो सामयिक संसार कै ठूलो र जघन्य आतंकवादी घटना थियो।
कैयौंका उपर अपराध साबित भयो। मृत्यूदण्डसम्मको सजाय दिइयो। सोनिया गांधीले मृत्यूदण्ड न दिनोस् भनेर आग्रह गरिन्। हालै जेलमा गएर पिताका हत्याराहरूलाई छोरी प्रियंका गांधीले भेट गरिन् र रिहा गरि दिनोस् भनिन्।
समाजमा, मानिसहरूमा दण्ड भावनाको प्रचुरता भएरमात्र हुन्न। करूणाले पनि स्थान पाउनु पर्दछ।
रेशम रिहा भए वा अन्यथा केही भएन भने रिहा हुनेछन्। अब प्रतिशोधलाई सबैले बिर्सनुस् र रेशमले जिम्मेदारीका साथ मुलुकका लागि, आफ्नो पिछडिएको समाजका लागि राजनीति गरून्।
यसका लागि मुलुकले पनि उनलाई मौका दिनु पर्दछ। मुलुकका सामु अरू धेरै कुराहरू न्याय तथा निसाफका लागि पर्खि बसेको छ। अब सक्नु हुन्छ भने त्यतातिर लाग्नुस् हजूर!