post-slider post-slider

क्यानडामा हिन्दू र सिख समुदायबीच तनाव!

Image
A A

काठमाडौं- एक जना सिख पृथकतवादी नेताको हत्यालाई लिएर क्यानडा र भारतबीचको विवादले ‘डायस्पोरा’ मा रहेका सिख र हिन्दूबीच राजनैतिक टकराव निम्तिएको छ।

यद्यपि कतिपयले त्यस्तो विश्लेषणलाई बढाइचढाइ गरिएको भनेका छन्।

क्यानडाको भूमिमा भएको हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको हुनसक्ने त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार सार्वजनिक रूपमा आरोप लगाएका थिए।

त्यसपछि अमेरिकामा रहेका सिख पृथकतावादी समूहका प्रमुखले हिन्दू क्यानेडियनहरूलाई भारत फर्कन आह्वान गरेको दखिने एउटा भिडियोको अंश सामाजिक सञ्जालमा देखा प¥यो।

हिन्दूलाई चेतावनी दिइएको भिडियो

‘इन्डो–क्यानेडियन हिन्दूहरू, तिमीहरूले क्यानडा र क्यानडाको संविधानप्रति आफ्नो निष्ठा अस्वीकार ग¥यौ,’ सिख फर जस्टिसका प्रमुख गुर्पत्वन्त सिंह पन्नुनले भिडियोमा भनेका छन्,‘तिमीहरूको गन्तव्य भारत हो। क्यानडा छाड र भारत जाओ।’

पन्नुन क्यानेडियन र अमेरिकी दोहोरो नागरिकता भएका व्यक्ति हुन्। उनी निज्जरका साथी थिए।

उनको भिडियो अनलाइन र भारतीय सञ्चारमाध्यममा व्यापक रूपमा फैलिएको थियो।

हिन्दू सांसदको ध्यानाकर्षण

त्यसले क्यानडाको संसदका लिबरल सांसद चन्द आर्यको ध्यानाकर्षण गरायो।

‘मैले धेरै हिन्दू–क्यानेडियनहरूबाट सुनेको छु– उनीहरू आक्रमणपछि डराएका छन्,’ आफू पनि हिन्दू रहेका आर्यले ट्विटरमा लेखेका थिए।

उनी ‘क्यानडामा हिन्दू र सिख समुदायहरूलाई विभाजित गर्न’ त्यस्तो टिप्पणी गरिएको हो भन्ने ठान्छन्।

स्पष्ट विभाजन

हत्याको घटना र त्यसपछिका कतिपय अभिव्यक्तिले क्यानामा रहेका भारतीय ‘डायस्पोरा’ भित्र स्पष्ट विभाजन देखाएको छ।

यद्यपि क्यानडाले त्यसमा भारतको हात रहेको आरोप लगाएपछि तनावलाई केही कम गरेको जस्तो देखिन्छ।

भारतले भने निज्जरको हत्यामा उसको संलग्नतालाई अस्वीकार गरेको छ।

निज्जरको हत्यापछि क्यानडामा तनाव बढेको थियो।

उनको हत्यापछि उनका समर्थकहरूले क्यानडाभरि विरोध प्रदर्शन गरेका थिए र उनको हत्यामा भारतको हात रहेको आरोप लगाएका थिए।

ती प्रदर्शनहरूले भारत सरकारका समर्थकहरूको विरोधको सामना पनि गर्नुपरेको थियो।

भारतको आपत्ति

ती प्रदर्शनका पोस्टरहरूमा भारतीय कूटनीतिज्ञहरूलाई ‘हत्यारा’ भनेर आरोप लगाइएको थियो।

त्यस्तो आरोपको नयाँ दिल्लीका अधिकारीहरूले निन्दा गरेका थिए।

भारतले क्यानडामा हिन्दू मन्दिरहरूलाई लक्षित गरेर ‘भारतविरोधी भित्तेचित्र’ टाँस्नुका साथै तोडफोड गरिएकोबारे पनि बोलेको छ।

निज्जर भारतीय राज्य पञ्जाबमा सिखहरूका लागि छुट्टै मातृभूमि अर्थात खालिस्तान राज्यको निर्माण हुनुपर्छ भन्ने पक्षमा पैरवी गर्ने व्यक्ति थिए।

भारतले खालिस्तान आन्दोलनको कडा विरोध गर्ने गरेको छ र निज्जरलाई आतंकवादीका रूपमा हेर्ने गरेको थियो।

सिख नेताको दाबी

एक अन्तर्वार्तामा पन्नुनले आफ्नो टिप्पणी सबै हिन्दूहरू लक्षित नभएको तर भारत सरकारको स्वार्थसँग मिल्नेलाई लक्षित गरिएको बताए र उनको दाबीमा त्यस्ता हिन्दूहरू बहुसंख्यक छन्।

इन्डो–क्यानेडियनहरूले भने आफ्नो समुदाय क्यानडाको आरोपबाट अचम्ममा परेको बताएका छन्। यद्यपि आफूहरूले सुरक्षामा कुनै खतरा भएको वा त्यस्तो खतरा बढेको अनुभव नगरेको बताए।

क्यानडामा दुवै देशकसँग गहिरो सम्बन्ध भएका इन्डो–क्यानाडेलीहरूको जनसंख्या ठूलो छ।

क्यानडामा विभिन्न धार्मिक र सामाजिक–आर्थिक पृष्ठभूमि भएका भारतीय मूलका १८ लाख ६९ हजार बासिन्दा छन।

क्यानडाका सिख र हिन्दू के भन्छन्?

टोरन्टोका एक जना प्राविधिक क्षेत्रमा कार्यरत व्यक्ति रणवीर ग्रेवाल आफूलाई सिखका रूपमा चिनाउँछन्।

उनी भारतीयहरूको समाज हिन्दू र सिख क्यानेडियनहरूको मिश्रण भएकाले सबै हिन्दू क्यानेडियनहरूले क्यानडा छोड्नुपर्छ भन्ने टिप्पणीको निन्दा गर्छन्।

‘ती अपेक्षाकृत रूपमा आपत्तिजनक बयानहरू हुन् र त्यसमा मानिसहरूले प्रतिक्रिया जनाउँछन्,’ ग्रेवालले भने।

ग्रेवालले क्यानडाका लागि हालै जारी गरिएको भारत सरकारको ‘ट्राभल एडभाइजरी’ को विरूद्धमा पनि बोलेका थिए।

उनले भने,‘म मानिसहरूलाई पहिले जसरी भेट्थेँ अहिले पनि त्यसरी नै भेट्दै आएको छु। मेरो दैनिकीमा खासै परिवर्तन आएको छैन।’

उनका भनाइमा मानिसलाई भड्काउने खालका टिप्पणीहरू इन्डो–क्यानेडियन समुदायका केही गुटहरूबाट गरिएको छ।

तर, त्यसले बहुसंख्यकलाई प्रतिनिधित्व गर्दैन।

भानकुभरमा अध्ययनरत राधिका शर्मा हिन्दू समुदायकी हुन्। र, उनी यो सामाजिक दाररलाई राजनीतिक मुद्दाको रूपमा हेर्छिन्।

उनका भनाइमा केही सिख र हिन्दू दुवै साथीहरू ट्रुडोको आरोपबाट विचलित भएका छन् किनकी उक्त आरोपलाई पुष्टि गर्न सरकारले कुनै पनि आधारहरू सार्वजनिक गरेको छैन।

क्यानडासँगको विवादपछि भारतले हालै आफ्ना नागरिकहरूमाथि हिंसाको सम्भावना रहेको भन्दै उक्त उत्तर अमेरिकी देशमा भ्रमण गर्दा ‘अत्यन्त सावधानी’ अपनाउन चेतावनी दिएको थियो।

 

Tags: