post-slider post-slider

एमालेको अडानले संसद बैठक प्रभावित

Image
A A

काठमाडौं- प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको हो।

संसद सञ्चालनका लागि ‘सहमति’ जुट्न नसकेपछि बैठक स्थगित गरिएको जनाइएको छ।

त्रिभुवन विमानस्थलबाट सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय समिति गठन गर्न माग गरिरहेको छ।

एमालेले यही माग राखेर नाराबाजी गरेपछि यसअघि साउन १० गतेको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको थियो।

एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म संसद चल्न नदिने अडान लिएको छ।

एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करीको विषयमा छानबिन गर्न तत्काल उच्चस्तरीय समिति गठन गर्नुपर्ने आफूहरूको माग रहेको बताए।

छानबिन समिति गठन गरेपछि मात्रै संसद चल्न नदिने एमालेको अडान रहेको उनको भनाइ छ।

‘छानबिन समिति गठन गरेपछि मात्रै संसद चल्न दिने अडान हाम्रो छ। संसदको प्रक्रिया अगाडि बढ्दैन, संसद चल्दैन,’ उनले भने,‘गृहमन्त्रीमाथि प्रश्न र आशंका छ। उहाँ मातहतका निकायले उहाँमाथि छानबिन गर्न सक्दैन। त्यसैले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ, अनिमात्र संस अगाडि बढ्छ।’

एमालेलगायतका दलका नेताहरूसँग छलफल गरेपछि सभामुख देवराज घिमिरेले संसद भवनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए।

संसदको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले उपप्रधानमन्त्री श्रेष्ठसँग छलफल गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले ‘ब्रेक प्याड’ मा प्याक गरेर ल्याइएको एक क्विन्टल सुन बरामद गरिएको छ।

विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाणको भएको बताइएको छ।

सुन तस्करीमा चीन, नेपाल र भारतका तस्कर समूह संलग्न रहेको अनुमान गरिएको छ भने हालसम्म संलग्न भनिएको १९ जना पक्राउ परिसकेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्रीको संलग्नताविना यति ठूलो परिमाणमा सुन तस्करी सम्भव नभएको दाबी गरिरहेको छ। 

 

Tags: