post-slider post-slider

मार्सी चामलको भात खुवाएको ओलीसँग प्रसाईंको किन यति धेरै कटुता?

Image
A A

काठमाडौं- केही वर्षअघि एउटा तस्बिर सार्वजनिक भएको थियो– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओली एउटै टेबलमा डिनर गरिरहेको छ।

प्रचण्ड र ओलीसँगै डाइनिङ टेबुलमा बसेका थिए– दुर्गा प्रसाईं। त्यो तस्बिरले त्यो बेला निकै चर्चा पायो। डिनरमा पस्किएको मार्सी चामलको ‘ब्रान्डिङ’ पनि भयो।

अनि चर्चामा आएका थिए, प्रसाईं।

त्यो बेला प्रसाईंको पहिचान एक जना मेडिकल व्यवसायीका रूपमा मात्रै थियो। झापामा मेडिकल कलेज सञ्जाल गर्न सम्बन्धन प्राप्त गर्न शीर्ष नेता र सरकार चहारिरहेका प्रसाईं प्रचण्ड र ओलीसँग निकट मानिन्थे।

मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई चिकित्साशास्त्र अध्यापन गराउन सम्बन्धन दिन नहुने लगायतका माग राखेर प्राध्यापक डा.गोविन्द केसीले गरेको सत्याग्रहका कारण प्रसाईंका जस्तै मेडिकल कलेजहरूलाई सम्बन्धन नदिन सरकार दबाबमा परेको थियो।

केही दिनअघि एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रसाईंले ओली र प्रचण्डबीच २०७४ सालको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गराउन आफूले भूमिका खेलेको दाबी गरेका छन्।

तत्कालीन अवस्थाको शक्तिशाली दललाई आफ्नो हातमा लिँदा सहजै सम्बन्ध पाउने अपेक्षामा प्रसाईंले ओली र प्रचण्डबीच समझदारी बढाउन आफ्नो घरमा बैठक राखेको र प्रभावित पार्न खोजेको धेरैको बुझाइ थियो।

प्रसाईंले भक्तपुरमा सञ्चालन गरेको ‘ठूलो’ तरकारी बजारको उदघाट्न एमाले अध्यक्ष ओलीले नै गरेका थिए।

ओली र प्रसाईं एकअर्काका दह्रिलो प्रशंसक देखिन्थे, त्यो बेला। समयक्रमसँग व्यवसायी प्रसाईं एमालेका केन्द्रीय सदस्य नै बने। र, उनलाई पार्टीको केन्द्रीय तहसम्म ल्याउन ओलीले नै भूमिका खेलेका थिए।

सार्वजनिक कार्यक्रमहरूमा उनी एमाले अध्यक्ष ओलीलाई ‘हजुरबुबा’ को नाता लगाउँदै बोल्थे। 

अहिले सरकारमा भएका मुख्य दल माओवादी केन्द्र र नेपाली कांग्रेस हुन्। तर, केही महिनादेखि प्रसाईंले एमाले नेतृत्वको चर्को आलोचना गर्दै आएका छन्।

विभिन्न माध्यमबाट उनले एमाले र अध्यक्ष ओली एवं पूर्वमन्त्री महेश बस्नेतविरूद्ध निरन्तर ‘विषवमन’ गरिरहेका छन्।

ओली र बस्नेतसहित एमाले नेताले उनको विभिन्न आलोचना गर्दै प्रसाईंलाई नियन्त्रण र कारबाही गर्नुपर्ने टिप्पणीसमेत गर्ने गरेका छन्।

एमालेसम्बन्ध युवा संघ धनुषाका अध्यक्ष रोशन यादवले राष्ट्रिय गानको अपमान गरेको भन्दै प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी नै दर्ता गराएका छन्।

सार्वजनिक अभिव्यक्तिहरूमा प्रसाईंले पहिला आफू माओवादी पार्टीमा आवद्ध भएको बताउने गरेका छन्। उनी पछि एमाले बनेका थिए।

अहिले भने उनी गणतन्त्रविरोधी बनेका छन् र राजतन्त्रको पक्षमा लागेका छन्।

कतिपय विश्लेषणमा कुनै बेला एमालेकै केन्द्रीय सदस्य बनेका प्रसाईं र एमाले नेताहरूबीच सम्बन्ध बिग्रिनुमा एमाले र ओलीबाट उनको ‘स्वार्थ पूर्ति नहुनु’ पनि एक प्रमुख कारण हुनसक्छ।

ओली र प्रचण्डलाई मार्सी चामलको भात खुावाएर चर्चामा आएका प्रसाईं पछि नेकपा फुटेपछि एमालेका केन्द्रीय बने।

एमालेको केन्द्रीय सदस्य रहेकै बेला गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उनी  एमालेबाट निष्कासित भए।

त्यसपछि उनी एमालेविरूद्ध उग्र रूपमा प्रस्तुत हुँदै आएका छन्।

ओलीसँग पारिवारिक नाता भएको देखाउन रूचाउने प्रसाईंले केहीअघि मात्र एमाले अध्यक्ष ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा लगानी रहेको विवादस्पद अभिव्यक्ति दिएका थिए।

राजधानीमा भएको प्रसाईंको एउटा कार्यक्रमपछि केही व्यक्तिले उनलाई कालोमोसो पनि दलेका थिए।

त्यसको आरोप उनले एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ  र एमाले नेता महेश बस्नेतमाथि लगाए।

एमालेबाट निष्कासित हुँदा पनि प्रसाईंले बैंकको ब्याज र किस्ता नतिर्न आग्रह गर्दै देशव्यापी अभियान चलाइरहेका थिए।

उनले लघुवित्त, सहकारीदेखि बैंकसम्मको ऋण मिनाहा हुनुपर्ने नारालाई अघि सार्दै मान्छेहरू भेला पार्ने र कार्यक्रम गर्दै आएका छन्।

प्रसाईंले अहिले ‘व्यवस्था परिवर्तन गर्ने’ एजेन्डासँगै ऋणीहरू ‘२० लाख रूपैयाँसम्मको ऋण मिनाहा हुनुपर्ने’ माग पनि अघि सारेका छन्।

त्यस्तै ‘२० लाख रूपैयाँभन्दा माथिको ऋण पनि २० वर्षभित्र ६ प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने’ माग उनको छ।

त्यस्ता कुराले सामाजिक सञ्जालमा निकै चर्चा बटुल्यो। प्रसाईंले विवादित  अभिव्यक्तिहरू दिने क्रमलाई निरन्तरता दिइरहे।

प्रसाईं प्रायः ओलीविरूद्ध खनिने गरेका छन्। ओलीपछि उनको तारोमा महेश बस्नेत पर्ने गरेका छन्।

आफूलाई कालोमोसो दलिएपछि ओलीप्रति उग्र बनेका प्रसाईंले ‘प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको तर ओलीमा नभएको’ टिप्पणीसमेत गरेका थिए।

त्यसलाई कतिपयले उनले सत्ताधारीप्रति नरम र ओलीप्रति कडा अभिव्यक्ति दिएको रूपमा पनि अथ्र्याएका छन्।

प्रसाईंले एकपटक ‘कालापानी लिम्यिाधुरा र लिपुलेक भारतलाई दिएर नेपालले बन्दरगाहसम्मको पहुँच लिनुपर्ने’ अभिव्यक्ति दिएका थिए।

त्यसलगत्तै ओलीले उनको नाम नलिइ सरकारले प्रसाईंलाई पक्राउ गर्नुपर्ने बताएका थिए।

प्रसाईंलाई युवा  संघले चुनौती दिएको हो?

काठमाडौंको एकै स्थानमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ र प्रसाईंले आन्दोलन गर्ने घोषणा गरेपछि दुई पक्ष आमनेसामने हुने अवस्था बनेको थियो।

तर, स्थानीय प्रशासनले दुवै पक्षका लागि फरकफरक स्थान तोकिदियो। कार्यक्रमस्थल फरकरफरक भए पनि बिहीबार दिउँसो प्रसाईं समूहले प्रदर्शन गरिरहेको बल्खुमा दुवै पक्षबीच ढुंगा हानाहान भयो। यद्यपि गम्भीर घटना हुन रोकिएको स्थानीय प्रशासनको बुझाइ छ।

तीनकुनेमा युवा संघको प्रदर्शन

एमालेप्रति आक्रामक बनेका प्रसाईंलाई चुनौती दिनकै लागि युवा संघ अगाडि भएको र कार्यक्रम जुधाएको धेरैको बुझाइ छ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले भने यसलाई अस्वीकार गरेका छन्।

उनका अनुसार मंसिर ७ गते कार्यक्रम गर्ने निधो धेरैअघि भएको र तिहारअगाडि नै प्रशासनलाई जानकारी गराइएको थियो।

यद्यपि गणतन्त्रविरूद्ध भइरहेको प्रहारविरूद्ध युवा संघले अभियान अघि बढाएको उनको भनाइ छ।

प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानका केन्द्रीय  सचिवालय प्रमुख यदुनाथ सिक्देलले पनि आफूहरूले कार्यक्रम नजुधाएको र युवा संघसँग आमनेसामने हुन नखोजेको बताउँछन्।

आफूहरूले दुई–तीन महिनाअगाडि नै कार्यक्रमको समय तय गरेको उनले बताएका छन्।

बल्खुमा तनाव

प्रदर्शनका क्रममा प्रसाईंका समर्थहरूले बल्खुमा प्रहरी घेरा तोड्ने प्रयास गरे।

प्रसाईंले उत्तेजक भाषण गर्दै समर्थकहरूलाई भड्काएपछि उनीहरू प्रहरी घेरा तोडेर अघि बढ्न खोजेका थिए।

त्यसक्रममा बल्खु चोकबाट कालिमाटीतर्फ भिड जान खोजेपछि प्रहरीले भिडलाई तितरबितर पार्न अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो।

उत्तेजित भिडले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। झडपका क्रममा केही घाइते पनि भएका थिए।

बल्खुमा युवा संघ र प्रसाईं समर्थकबीच ढुंगा हानाहान

दुवै पक्षको कार्यक्रमका क्रममा कुनै अप्रिय घटना हुन नदिन एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको थियो।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायतका अनुसार दुई–तीन दिनदेखि नै काठमाडौंका ठाउँठाउँमा अतिरिक्त सुरक्षा जाँचदेखि गस्तीसम्म गरिएको थियो।

दुई पक्षको कार्यक्रम भइरहँदा बिहीबार दिनभर काठमाडौं उपत्यकाको यातायात सञ्चालनमा समस्या देखिएको थियो।

 

Tags: