post-slider post-slider

नेप्सेमा २२० कम्पनीको सेयरमूल्य घट्यो

Image
A A

काठमाडौं- सेयर बजारमा भारी गिरावट भएको छ। साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने चर्चाले केही दिन उतारचढाव देखिए पनि राष्ट्र बैंकले उक्त निर्णय गर्न ढिलाइ गर्दा नेप्सेमा उच्च गिरावट भएको छ। सोमबार नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा अर्थमन्त्री, गभर्नर सहित उपस्थितिमा कार्यक्रम आयोजना गर्दैछ। तर, त्यसको अघिल्लो दिन आइतबार भने सेयर बजारमा उच्च गिरावट भएको हो।

आइतबार सबै उपसूचकहरु पनि घटेको छ। हाइड्रोपावर उपसूचक सर्वाधिक ३.३२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक २.१७ प्रतिशले गिरावट भएको छ। यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.०७ प्रतिशतले गिरावट भएको हो।

नेप्सेमा उच्च गिरावट हुँदा कारोबार रकम २ अर्बको नजिक पुगेको छ। आइतबार ८२ हजार ८०० वटा कारोबारमा ६७ लाख २३ हजार ४०० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८३ करोड ५ लाखको कारोबार भएको छ। जसमध्ये सिटिजन्स लाइफको सर्वाधिक १४ करोड ७४ लाखको कारोबार भएको छ।

नेप्सेमा सूचीकृत भएर आइतबार कारोबार सुरु भएको सिटिजन्स लाइफमा आईपीओ परेका लगानीकर्ताको सेयर बिक्रीको चाप देखिएको हो। यस्तै एनआईसी एशिया बैंकको ९ करोड ३६ लाख र सन् नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ।

आइतबार नेप्सेमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २२० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ। त्यस्तै १० कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीका सेयरमूलय स्थिर छ।

आइतबार कारोबार भएकामध्ये सयपत्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मम सर्किट मूल्यमा बन्द हुँदा पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ६.०७ प्रतिशत र कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ६.०५ प्रतिशतले बढेको छ।

यता सनराइज म्युचुअल फण्डको इकाइमूल्य सहित अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरीङ हाइड्रोपावर र सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ।

त्यस्तै मेन्छियाम हाइड्रोपावर कम्पनीका सेयरमूल्य पनि ९.९७ प्रतिशतले गिरावट भएर बन्द भएको छ।

नेप्सेमा सूचीकृत भई आइतबार प्रि-ओपन सेसनमा ५०८ रुपैयाँमा पहिलो कारोबार भएको सिटिजन्स लाइफमा पहिलो दिन नै नकारात्मक सर्किट लागेको हो।

Tags: