post-slider post-slider

भिजिट भिसामा विदेश जान आजदेखि यस्तो नियम

Image
A A

काठमाडौं- भिजिट तथा पर्यटक भिसामा विदेश जानका लागि बुधबारदेखि नयाँ नियम लागु भएको छ।

अवैध ढंगबाट भिजिट भिसामा जाने क्रम बढेपछि बुधबारदेखि नयाँ नियम लागु गरिएको हो।

अध्यागमन विभागका अनुसार भिजिट भिसामा विदेश जानका लागि कम्तिमा पनि ६ महिनाको वैध अवधि भएको राहादानी हुनुपर्छ।

त्यस्तै सम्बन्धित देशको भिसा वा अनअराइभल भिसा प्राप्त हुने देश भए प्रवेशाज्ञा चाहिने र भ्रमणमा जानेहरूले दुईतर्फी हवाइ टिकट पेस गर्नुपर्ने विभागले जनाएको छ।

विभागका अनुसार खाडी देशभन्दा बाहिर कम्तिमा एकपटक र खाडी देशमा दुईपटक विदेश यात्राको अभिलेख भएका, न्यूनतम २ वर्षभन्दा बढी समयमा विदेशी देशमा बसेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरूले भिजिट भिसामार्फत यात्रा गर्न पाउनेछन्।

त्यस्तै न्यूनतम माध्यमिक तहको औपचारिक शिक्षा वा त्यो सरहको प्राविधिक र व्यावसायिक सीप दक्षता भइ आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ, प्राविधिक, अंग्रेजी वा गन्तव्य देशमा बोलिने अन्तर्राष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्ति पनि भिजिट भिसामा जान पाउनेछन्।

आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति, गन्तव्य देशमा रहेका राजदूतावास र नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्तिहरू, सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरूलगायत पनि भिजिट भिसामा जान पाउनेछन्।

वार्षिक न्यूनमत ५ लाख रूपैयाँ करयोग्य आय भइ कम्तिमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरू, नेपाली दूतवासको सिफारिसबमोजिम बिरामी कुरुवा र वा रेखदेखको काम गर्न जाने तीन पुस्ताभित्रका पारिवारिक सदस्यहरू पनि भिजिट भिसामा जान पाउनेछन्।

भिजिट भिसामा विदेश गएर तोकिएको अवधिभित्र स्वदेश नफर्किने प्रवृत्ति बढेपछि विभागले नयाँ मापदण्ड लागू गरेको हो।

 

Tags: