post-slider post-slider

प्रदूषण नियन्त्रण गर्न दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी

Image
A A

काठमाडौं- भारतको राजधानी नयाँदिल्लीमा चरम सीमामा पुगेको वायु प्रदूषण नियन्त्रणका लागि दिल्लीका

पर्यावरणमन्त्रीले ‘क्लाउड सिडिङ’ भनिने कृत्रिम वर्षा गराउनेबारे छलफल भइरहेको बताएका छन्।

प्रदूषणको स्तर कम गर्नका लागि अघि सारिएको कृत्रिम वर्षाको योजनाका लागि सर्वोच्च अदालत र विभिन्न केन्द्रीय मन्त्रालयको स्वीकृति आवश्यक छ।

स्वीकृति प्राप्त भएको अवस्थामा यो योजना वातावरणको अवस्था हेरेर अर्को महिना लागू गर्न सकिन्छ।

दिल्लीमा प्रदूषण कम गर्न कृत्रिम वर्षाको सुझाव दिइएको यो पहिलोपटक चाहिँ होइन। तर, केही विज्ञहरू भने यो जटिल र महँगो हुनुका साथै पूर्ण रूपमा प्रदूषणसँग कम गर्न यसको प्रभावकारीता प्रमाणित नभएको बताउँछन्।

वातावरणमा यसको दीर्घकालीन प्रभाव बुझ्न अझै धेरै अनुसन्धान आवश्यक ठानिएको छ।

दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण जनता निस्सासिरहेको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेका कारण त्यसको समाधान खोज्न भारतको राजनीतिक नेतृत्व आतुर देखिन्छ।

दिल्लीमा वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) पछिल्लो दुई हप्तादेखि लगातार ४५० भन्दा माथि रहेको छ।

एक्युआइले पिएम भनिने हावामा रहेको कण २.५ मापन गर्छ। अहिले दिल्लीको सूचकाङ्क स्वीकार्य सीमाभन्दा दस गुणा बढी छ।

राजधानी दिल्लीमा यसअघि परेको वर्षाले वायु प्रदूषणको स्तर केही घटेको थियो। तर, दीपावलीमा पटाका र आतिशाबाजीका कारण वायुको गुणस्तर सूचकाङ्क फेरि जोखिमयुक्त तहमा पुगेको छ।

दिल्लीमा सवारी साधन, औद्योगिक उत्सर्जन र धुलोका कारण प्रदूषणको स्तर वर्षभर उच्च रहन्छ। तर, हिउँदका दिनमा यो समस्या झन् जटिल बन्ने गरेको छ।

यसको एउटा कारण छिमेकी राज्यका किसानले बाली काटिसकेपछि पराललगायतका बस्तु जलाएर खेत सफा गर्नु पनि हो। यसबाट निस्कने धुवाँ दिल्लीतिर आउँछ र यहाँको हावालाई अझ विषाक्त बनाउँछ।

 

Tags: