मेलम्चीमा बाढीको जोखिम उस्तै
सिन्धुपाल्चोक– मेलम्ची बाढीका कारण ग्लालथुमको सरस्वती माध्यामिक विद्यालय तथा वरपरका करीब ५ वटा घर उच्च जोखिममा परेको छ।
अविरल वर्षाका कारण हेलम्बु मेलम्ची खोलाको बहाव बढेको र ग्यालथुमको सरस्वती मा विको वरपरका करीब ५ वटा घर उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ। आज सरस्वती माविको २ वटा ( कच्ची १ कोठे र पक्की १ कोठे)शौचालय बगाएको छ।
मेलम्ची हेलम्बु सडक खण्डको दुई स्थानमा सडक डुवानमा परी यातायात अवरुद्ध भएको छ। हेलम्बुको डुङ्ग्रे बजार र मेलम्ची नगरपालिकाको सिमखेतमा खोला सडकमा नै बगेका कारण यातायात अवरुद्ध भएको हो।
मेलम्ची नगरपालीकाको भोटेचौर सडक, मेलम्ची, भोताङ सडक, मध्य पहाडी लोकमार्ग भित्रका केही स्थानहरुमा पहिरो खसी यातायात केही समय अवरुद्ध भएको छ।
पाचपोखरी थाङ्पाल गाउँपलिका वडा नं ८ मा इन्द्रावती नदिले कटान गरेको छ। मेलम्ची भोताङ सडक खण्डको उत्तिसघारी भन्ने स्थानको सडक हाल सम्म सुचारु भएको छैन। वैकल्पिक बाटो खाल्डे खोला लागर्चे तिपेनको सडक भएर आवतजावत गर्ने व्यवस्था गरिएको छ।
भोटेकाशी गाउँपलिका वडा नम्बर २ दशकिलो र बाह्रबिसे नगरपालिका वडा नम्बर ५ सिरिसेमा माथिबाट पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको थियो। त्यस्तै वडा नं ४ डाक्लाङमा पहिरोले गर्दा अरनिको राजमार्ग सडक भासिएका कारण सवारी आवत जावत अवरुद्ध भएको थियो। आज स्थानीयतह र सडक विभागको समन्वयमा सडक सञ्चालनमा आएको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको सुचनाअनुसार जिल्लाको घुम्थाङ, नाकोते, थापालधाप लगायत ठाउँमा रहेको वर्षामापन यन्त्रहरुमा गएराति उल्लेख्य वर्षा भएको मापन गरिएको छ।
उक्त भुभाग भएर बग्ने मुख्य नदीहरु मेलम्ची, इन्द्रावती, सुनकोशी, भोटेकेशी तथा सहायक नदिहरूको बहाव बढेको छ।