post-slider post-slider

‘अनुसन्धानका लागि बोलाउन भनेको छु, बोलाउँदैनन् त के गर्नु?’

Image
A A

काठमाडौं- माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि बोलाउन भने पनि आफूलाई नबोलाइएको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत पुसमा भेपमा राखेर ९ किलो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि महराले यस्तो बताएका हुन्।

मंगलबार दाङमा पत्रकारहरूसँग कुरा गर्दै महराले भने,‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु। अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु। तर, बोलाउँदैनन् त के गर्नु?’

उनले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार भएको बताए।

सुन तस्करी प्रकरणमा संलग्न भनिएका चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रूपमामात्र चिनेको उनले बताए।

‘चिनियाँ नागरिकलाई वाङलाई फलफूल व्यापारीका रूपमामात्र चिनेको छु। त्यसबाहेक उनलाई चिनेको छैन,’ महराले भने।

सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै उनले सञ्चारमाध्यममा गलत प्रचार भएको गुनासो गरे।

सुन तस्करीको भनिएको टेलिफोन संवादका विषयमा कुनै पनि संवाद नभएको महराको दाबी छ।

वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको महराले बताए।

‘सुनको स पनि कुरा भएको थिएन, के छ भनेर मलाई थाहा पनि भएन। मैले भन्सारका साथीहरूलाई कुराकानी गरेर कानुनअनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नुपर्ने भए रोक्नु होला, भनेको हो। यो प्रकरणमा भएको यत्ति हो। यसैलाई आधार मानेर सञ्चारमाध्यममा गलत प्रचार गर्ने काम भयो,’ महराले भने।

 

Tags: