post-slider post-slider

कामिरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

Image
A A

काठमाडौं- कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहन गरेर कीर्तिमानी तोडेका छन्। कामिरिताले आइतबार बिहान ७: २५ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ। 

उनी सगरमाथामा सबैभन्दा बढी आरोहण गर्ने आरोही हुन्। यसअघि पनि यो कीर्तिमान उनकै नाममा रहेको थियो। 

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडिदिएका छन्। 

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन्। गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए। पासाङ दावाले यसपटक सगरमाथा आरोहण गर्ने या नगर्ने टुङ्गो छैन।

सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो। पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन्।

कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चिज दिएको छ। हिमाललाई दुहुना गाईका रुपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उनको बुझाइ छ । 

कामिरिताले २०७९ को वसन्त ऋतुमा दुई पटक सगरमाथा आरोहण गरेका थिए। सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए। त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए।

उनले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए। उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ।

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो। पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले जोगाउने चुनौती थपिएको हो।

सगरमाथाको दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने जिम्मा सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ। वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेका छन्। 

Tags: