post-slider post-slider

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामजिक सुरक्षा कोषमा समेटिने

Image
A A

काठमाडौं- सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरू गरेको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सुरक्षा कोषमा समेट्न सुरू गरेको हो।

त्यस्तै सरकारी निकायमा कार्यरत अस्थायी र करारका कर्मचारीहरूलाई पनि कोषमा आवद्ध गराउने कार्य सरकारले सुरू गरेको छ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान सुरू गरेको औपचारिक घोषणा गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले ल्यापटकको स्विच थिचेर यसको औपचारिक घोषणा गरेका हुन्।

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले  नेपाली श्रम बजारका सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सरकारको नीति अनुसार यो कार्यक्रमको आरम्भ गरिएको बताए।

केही समय पहिले वैदेशिक रोजगारमा गएका नेपाली श्रमशक्तिका लागि सामाजिक सुरक्षा योजनामा आवद्ध हुने व्यवस्थाको थालनी भएको र गत महिनाबाट स्थानीय तहमा दर्ता भइ त्यहीँबाट अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई कोषमा आवद्ध गर्ने प्रणालीको थालनी भइसकेको जानकारी दिए।

मन्त्री भण्डारीले कोषबाट मुलतः औषधोपचार, मातृ सुरक्षा, दुर्घटना, अशक्त सुरक्षालगायतका योजनामा काम भइरहे पनि भविष्यमा थप सुरक्षा योजना सञ्चालन गर्ने उल्लेख गरे।

सरकार क्षेत्रमा कार्यरत अस्थायी र करार कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने उद्देश्यले पहिलो चरणमा कोषमै कार्यरत करार कर्मचारीबाट थालनी प्रक्रिया अगाडि बढेको उनले बताए।

मन्त्री भण्डारीले अन्यत्रका कर्मचारीलाई पनि कसरी आवद्ध गराउने विषयमा छलफल भइरहेको जानकारी दिए।

अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते ‘अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि’ मन्त्रालयबाट स्वीकृत भएको थियो।

वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका कारण बुधबार औपचारिक घोषणा गरिएको हो।

 

Tags: