post-slider post-slider

सेयर बिक्री विवाद : एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा के छ?

Image
A A

काठमाडौं- एनसेल एजियाटाले कम्पनीको सेयर खरिदबिक्रीमा नेपालको कानुन पूर्ण पालना गर्न प्रतिबद्ध रहेको जनाएको छ।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुधबार जबाफी पत्र पठाउँदै यस्तो प्रतिबद्धता जनाएको हो।

५ प्रतिशतभन्दा बढी सेयर खरिदबिक्री गर्दा प्राधिकरण स्वीकृति लिनुपर्ने प्रावधानविपरित मलेसियन कम्पनी एजियाटाले आफ्नो हिस्साको सम्पूर्ण ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको चर्चा चलेको थियो।

योलगत्तै प्राधिकरणले एनसेल एजियाटालाई १५ मंसिरमा पत्र लेख्दै सेयर खरिदबिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो।

एनसेल एजियाटाले प्राधिकरणको यही पत्रको जवाफ पठाएको हो।

एनसेल एजियाटाले पत्रमार्फत ‘सेयर खरिदबिक्री गर्ने सम्झौता भए पनि अहिले प्रक्रियामै रहेको’ जवाफ प्राधिकरणलाई दिएको छ।

सेयर खरिद कागजातहरू संकलन हुनासाथ प्राधिरणसमक्ष बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने उसको भनाइ छ।

एनसेल एजियाटाका प्रमुख कानुन तथा नियामक मामिला प्रमुख विशालमणि उपाध्यायले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ,‘कम्पनीको सेयर धनी रेनोल्ड होल्डिङ्स लिमिटेडको सतप्रतिशत सेयर खरिदबिक्री गर्ने सम्बन्धमा एजियाटा र स्पेक्ट्रलाइट युके लिमिटेडबीच सेयर खरिदबिक्री सम्झौता भएकोले त्यहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५(१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिदबिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिद कागजातहरू संकलन हुनासाथ तत्काल प्राधिकरणसमक्ष सेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेस गरिनेछ।’

बिक्रीका लागि भएको द्विपक्षीय सम्झौतासमेतका कागजातहरू सम्बन्धित पक्षबाट संकलनको क्रममा रहेको एनसेल एजियाटाले जनाएको छ।

एनसेल एजियाटा कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकोले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरूक र कटिबद्ध रहेको पत्रमा भनिएको छ।

एजियाटाले १ खर्ब ४४ अर्ब रूपैयाँमा किनेको एनसेलको ८० प्रतिशत सेयर ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री गरेपछि विवाद चर्किएको छ।

बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले एजियाटाको हिस्सामा रहेको ८० प्रतिशत सेयर खरिद गरेको हो।

Tags: