post-slider post-slider

इजरायल आक्रमणमा इरानले सहयोग गरेको हो?

Image
A A

काठमाडौं- गाजा क्षेत्र आसपासका इजरायली समुदायमाथि हमासले गरेको घातक आक्रमणमा इजरायलको शत्रु राष्ट्र इरानको संलग्नताबारे प्रश्न उठिरहेको छ।

‘वालस्ट्रिट जर्नल’ मा प्रकाशित एक विवरणमा नाम उल्लेख नगरिएका हमासका र लेबनानका गुरिल्ला हिजबुल्लाहका सदस्यलाई उद्धृत गर्दै इरानले एक साताअघि नै इजरायलमा आक्रमणका लागि अनुमति दिएको उल्लेख छ।

यो दाबीमा दम देखिन्छ। यदि इजरायलमाथि भएको आक्रमणपछाडि इरानको पनि हात देखियो भने यसले द्वन्द्वलाई क्षेत्रीयस्तरको द्वन्द्वमा विस्तार गर्नसक्छ।

यो आक्रमणको प्रशंसा गर्न र त्यसमा हर्षोल्लास मनाउन इरानी नेताहरू अगाडि देखिए पनि उनीहरूले तत्कालै आफ्नो संलग्नता अस्वीकार गरे।

‘इरानको भूमिकाबारेका आरोपहरू...राजनीतिक कारणबाट प्रेरित छन्,’ इरानको विदेश मन्त्रालयले भनेको छ।

एक जना प्रवक्ताले ‘अरू देशको निर्णय प्रक्रियामा’ इरानले हस्तक्षेप नगर्ने बताएका छन्।

तर यी आधारमा मात्रै इरान संलग्न थिएन भन्न कठिन छ।

हमासका प्रवक्ता गाजी हमादले यो आक्रमणका लागि आफ्नो समूहलाई इरानबाट प्रत्यक्ष आड रहेको बताएका छन्।

इरानले ‘प्यालेस्टाइन र जेरूसलेमको मुक्तिका लागि प्यालेस्टिनी लडाकुहरूको पक्षमा उभिने’ वाचा गरेको छ।

अमेरिकाले हमास हमलापछाडि इरानको संलग्नताबारे अहिलेसम्म कुनै पनि प्रमाण नभेटिएको जनाएको छ।

यद्यपि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले घटनाक्रमपछि ‘पक्कै पनि लामो सम्बन्ध रहेको’ दाबी गरेका छन्।

तेहरान वर्षौैंदेखि हमासको प्रमुख आर्थिक दाताको रूपमा रहेको छ। उसले आर्थिक सहयोगका अतिरिक्त हमासलाई रकेटसहितका कैयौं अस्त्रहरू पनि उपलब्ध गराउँदै आएको छ।

इरानले गाजामा आपूर्तिका लागि प्रयोग गर्ने मार्ग अवरूद्ध गर्न इजरायलले कैयौं वर्ष बिताइसकेको छ। गाजा र इरानको बीचमा सुडान र यमनजस्ता देशहरूसँग रेड सी र कानुनी शून्यता रहेको सिनाइ प्रायद्वीपमा सक्रिय फिरन्ते तस्करहरू पर्छन्।

इजरायलसँग लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेको इरानको यहुदी राष्ट्रमा हुने समस्याबारे चासो छ।

‘इरानको संलग्नता छ भन्ने ठानिनु धेरै टाढाको कुरा होइन,’ इजरायलका विदेशी गुप्तचर निकाय मोसादका पूर्वअधिकारी हाइम तोमर भन्छन्,‘इजरायल र साउदी अरबबीच शान्ति सन्धि हुन लागेको विवरणप्रति यो इरानको प्रतिक्रिया हो।’

यद्यपि तोमर शनिबारको आक्रमण इरानकै आदेशमा भएको भन्न नसकिने बताउँछन्।

‘हमासलाई हात हतियार उपलब्ध गराउने प्रमुख देश इरान भएको सत्य हो,’ उनले भने,‘उनीहरूले सिरियामा र भनिएअनुसार इरानमा पनि तालिम दिइरहेका छन्।’

उनी इजरेलले पछिल्ला महिनाहरूमा हमासका अधिकारीहरूको गतिविधि निगरानी गरिरहेको बताउँछन्।

‘हामीले सलेह अल–अरूरी (हमासका सैन्य विभाग प्रमुख) र अरू हमास नेताहरू लेबनान र इरानमा बाक्लै आउजाउ गरेको तथा खामेनीलगायतसँग बैठकहरू गरेको देखेका छौं,’ उनले भने।

तर, तोमरका अनुसार आक्रमणको समयबारे चर्चाका लागि यो प्रकारको अन्तरङ्ग सम्बन्धमात्रै पर्याप्त छैन।

‘इजरायलमा आन्तरिक द्वन्द्वका लागि हमासले सहयोग गरिरहेको थियो,’ उनले भने,‘इरानले उसका लागि आवश्यक सामग्रीका लागि सहयोग गर्दै आएको छ। तर, मेरो विचारमा उक्त आक्रमण ७५ प्रतिशत हमास नेतृत्वको स्वतन्त्र निर्णय थियो।’

तेल अभिभ विश्वविद्यालयका इरान विज्ञ राज जिम्मत यो कुरामा सहमत छन्।

‘यो प्यालेस्टाइनको कथा हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

वालस्ट्रिट जर्नलका अनुसार बेरूतमा सोमबार भएको बैठकमा इरानले आक्रमणका लागि सकारात्मक संकेत दिएको थियो।

हमास र हिजबोल्लाहका नाम खुलाउन नचाहने स्रोतले उक्त पत्रिकालाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले गत शनिबार हवाइ, स्थल र सामुद्रिक आक्रमणका लागि गत अगस्तबाट नै हमाससँग मिलेर काम गरिरहेको बताएका छन्।

हमास आक्रमणका भिडियोहरूले उक्त समूहले यसअघि गर्दै आएका अपरिपक्व आक्रमणहरूको तुलनामा परिष्कृत आक्रमण भएको देखाउँछ।

रकेट, ड्रोन, सवारी साधन र झुन्डिन मिल्ने यान्त्रिक ग्लाइडरहरूबाट एक साथ भएको आक्रमणले यो हमलामा सहभागीहरूले युक्रेनसहित हालै भएका अन्य मिश्रित युद्धहरूबारे अध्ययन भएको देखाउँछन्।(बिबिसीबाट)

 

Tags: