post-slider post-slider

जब भारतीय क्रिकेटरले जोगाए पाकिस्तानी साथीको ज्यान...

Image
A A

काठमाडौं- भारतीय र पाकिस्तानी टोलीबीच कुनै खेल हुन लाग्दा ती दुईको प्रतिद्वन्द्विताका कारण पूरा विश्वको ध्यान तानिने गर्छ।

यी दुई चिरपरिचित प्रतिद्वन्द्वीबीच पुनः विश्वकप क्रिकेटमा शनिबार भिडन्त हुन लागेको छ। गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेलबारे अनेक थरी अनुमान गरिएको छ।

प्रतिद्वन्द्विता भए पनि क्रिकेट इतिहासमा भारतीय र पाकिस्तानी दुई टोलीबीच प्रेम, सम्मान र सदभावना झल्किने कैयौं दृष्टान्तहरू छन्।

गत महिना सम्पन्न एसिया कप क्रिकेटका क्रममा पाकिस्तानी बलर शाहीन शाह अफ्रिदीले तीव्र गतिका भारतीय बलर जसप्रित बुमहराका नवजात शिशुलाई कोसेली पठाएका थिए।

त्यो देखेर भारत र पाकिस्तानी क्रिकेट प्रशंसकहरू मख्ख परे। 

गत वर्ष भारतीय महिला टोलीका खेलाडीहरू पाकिस्तानी कप्तान बिस्मा मरूफको बच्चा वरिपरि भेला भएको तस्बिर पनि भाइरल भएको थियो।

त्यो तस्बिरबारे इन्टरनेटमा निकै चर्चा भयो।

जब भारत र पाकिस्तान विभाजित भए

क्रिकेट इतिहासमा केही दशकअघि फर्किने हो भने सन् १९४७ मा भारत र पाकिस्तान विभाजित हुँदा उत्पन्न साम्प्रदायिक तनाव र हिंसाले पनि दुई पक्षबीचको क्रिकेट सम्बन्ध भत्काउन सकेको थिएन।

फजल महमुद देश विभाजित हुनुअघि राष्ट्रिय टोलीका लागि छानिएका थिए।

भारत र पाकिस्तान विभाजन भएको दिन १९४७ अगस्त १५ मा उनलाई भारतको पुणे सहरमा हुने क्रिकेट क्याम्पमा सहभागी हुन बोलाइयो।

हिन्दू–मुस्लिमको दङ्गा फैलिरहेको बेला आफ्नो गृहनगर लाहोरबाट पुणे जान उनले निकै खतरनाक यात्रा गर्नुप¥यो।

राष्ट्रिय टोलीमा छानिँदा फजल भारतीय खेलाडी त थिए तर पुणे पुग्दा उनी स्वतः पाकिस्तानी नागरिक बनिसकेका थिए।

क्याम्प स्थगित भयो। त्यसपछि भएको एउटा घटनालाई ऐतिहासिक मानिन्छ।

‘क्याम्पपछि म लाहोर फर्किनुपर्ने थियो,’ महमुदले आफ्नो जीवनी ‘फ्रम डस्क टु डन’ मा लेखेका छन्,‘विभाजनपछि रक्तपात र नरसंहार भइरहेका बेला त्यसो गर्नु कठिन थियो। म पुना (पुणे) बाट रेलमा बम्बई (मुम्बई) गएँ। क्रिकेटर सिके नायडु पनि सँगै थिए। दुई अतिवादीहरूले मलाई रेलमा देखे, उनीहरू मलाई हानि पु¥याउन चाहन्थे। तर, सिके नायडुले मलाई उनीहरूबाट जोगाए। उनले आफ्नो ब्याट निकाले र ती मानिसलाई मेरो नजिक नजान चेतावनी दिए।’

नायडुलाई भारतमा अग्रणी क्रिकेट खेलाडी मानिन्छ। महमुद पाकिस्तानी खेलकुदमा निकै प्यारा व्यक्ति बने।

नायडुले आफ्ना साथी महमुदको ज्यान जोगाएको घटना मैदानबाहिर खेलाडीहरूबीचको सम्बन्ध कति बलियो हुनसक्छ भन्ने संकेट गर्ने एउटा प्रमाण हो। त्यसपछि प्रत्येक दशकमा मित्रताका त्यस्ता कथाहरू सुनिने गरेको छ।

भारतीय र पाकिस्तानी खेलाडीले सँगै होली मनाए

यद्यपि भारत र पाकिस्तानले सन् २०१२–१३ पछि द्विदेशीय श्रृंखला खेलेका छैनन्। तर, सन् १९८७ मा पाकिस्तानी टोली क्रिकेट खेल्न भारत जानु सामान्य मानिन्थ्यो।

त्यो वर्ष भारत र पाकिस्तानबीच खेलिएको श्रृंखला होलीका बेला परेको थियो।

भूतपूर्व क्रिकेटर किरण मोरे पनि सन् १९८७ मा पाकिस्तान गएर खेल्ने भारतीय टोलीमा थिए।

त्यति बेला दुई टोलकिा खेलाडीहरूले निकै भव्य तरिकाले होली मनाउको उनी सम्झिन्छन्। उनका अनुसार खेलाडीहरूले पूरै होटलमा रातो रंग पोतिदिएका थिए।

‘त्यो वर्ष होली निकै स्मरणीय बन्यो,’ मोरे भन्छन्,‘हामीले एकअर्कालाई छ्यापेको रंग पूरै होटलमा लत्पतिएको थियो। स्विमिङ पुल पनि रातो बन्यो। त्यो अहिलेसम्मकै धेरै राम्रो होली थियो। पाकिस्तानी खेलाडीहरू पनि निकै उत्साहित थिए। होटलले हामीलाई चेतावनी दिन खोजेको थियो र पछि हामीलाई पाँच सय पाउन्ड जरिवाना तिरायो। सन् १९८७ मा त्यो निकै ठूलो रकम थियो। त्यसको भोलिपल्ट हामीले एकअर्काविरू खेल्यौं र प्रतिद्वन्द्विता बिउँतियो।’

द्विदेशीय क्रिकेट श्रृंखलामा विराम लागेपछि...

त्यो वर्ष होलीमा रमाउने खेलाडीमध्ये चर्चित पाकिस्तानी बलर वसीम अकरम पनि थिए।

एकअर्काको देशमा गएर खेल्ने क्रम रोकिएपछि भारत र पाकिस्तानबीच खेलिएका खेलको संख्या पनि घटेको छ। तर, प्रतिस्पर्धाको मात्रा कहिल्यै घटेको छैन।

तैपनि नयाँ मित्रता पलाउँछ वा पुरानो पुनर्जागृत हुन्छ।

भारतीय पूर्वखेलाडीले पुराना साथी भेटे

गत वर्ष ७६ वर्षीय विशनसिंह वेदी तीर्थाटनका लागि पाकिस्तानस्थित एउटा सिख मन्दिर गए।

उनलाई भेट्न उनका समकालीन पाकिस्तानी खेलाडीहरू लर्को नै लाग्यो।

पाकिस्तानी टोलीका प्रबन्धक इन्तिखाब आलमले आफ्ना पुराना प्रतिद्वन्द्वी तथा मित्रलाई ‘वेन द सेन्ट्स गो मार्चिङ इन’ शीर्षित पुरानो गीत बजाएर भव्य स्वागत गरे।

दुवै पूर्वकप्तानले सँगै भोजन गरे, गीत सुने र पुराना कुराको सम्झना गरे।

इन्तिखाब आलमको जन्म भारतमा भएको थियो। देश विभाजित भएपछि उनी पाकिस्तान गएका थिए।

सन् २००४ मा उनी आफ्नो जन्मभूमि आए–त्यो पनि भारतको एउटा घरेलु क्रिकेट टोलीलाई प्रशिक्षण दिने पहिलो विदेशी बनेर।

विराट–बाबर एकअर्काका प्रशंसक

दुई देशका खेलाडीहरूबीच सदभावना अहिले पनि कायम रहेको देखिन्छ।

भारतका पूर्वकप्तान विराट कोहली र पाकिस्तानी कप्तापन बाबर आजमले नियमित रूपमा एकअर्काको प्रशंसा गरेको पाइन्छ।

विराट कोहली बाबर आजमलाई विश्वकै एक उत्कृष्ट ब्याटरको संज्ञा दिने गरेका छन्। (बिबिसीबाट)

 

Tags: