post-slider post-slider

लालीगुँरास सहकारीको ६ अर्ब अपचलन गर्ने चार जना पक्राउ

Image
A A

काठमाडौं- प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ।

बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष अमरदास श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ गरिएका चार जनालाई सार्वजनिक गरेको छ। 

ललितपुरको पुल्चोकमा रहेको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

सहकारीको सञ्चालक समिति र लेखा समितिका ९ जनालाई पक्राउ गर्न ललितपुर अदालतले अनुमति दिएपछि अहिले चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए। 

पक्राउ परेकामध्ये अमरदास ३१ वर्ष नेपाल बैंक मुख्य कार्यालय नयाँ सडकमा चिफ म्यानेजर भएर काम गरेका थिए।

२०६१ सालमा लालीगुराँस सहकारीको सचिवको रुपमा उनी दुई वर्ष काम गरेका थिए। २०६४ सालमा उनी सोही सहकारीको उपाध्यक्ष हुँदै अध्यक्ष भएका थिए।

पक्राउ परेका भण्डारी २०५६ सालदेखि अहिलेसम्म लालीगुरास सहकारीमा विभिन्न पदमा काम गरिरहेका छन्।

२०५६ सालमा उनी लालीगुराँस सहकारी पुल्चोकमा म्यानेजरको रुपमा प्रवेश गरेका थिए।

उनी प्रमुख कार्यकारी अधिकृत, सञ्चालक सदस्य हुँदै अहिले प्रमुख कार्यकारी अधिकृत र सचिव पदमा कार्यरत् छन्।

२०६६ र २०६७ सालमा दुई पटक उनी सहकारी राष्ट्रिय विकास बोर्डको सञ्चालक पदमा काम गरेका थिए। उनी राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ सञ्चालक पदमा रहेर करिब ६ वर्ष काम गरेका थिए।

Tags: