post-slider post-slider

तीन शीर्ष नेताबीच भेटवार्ता

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो।

छलफलमा विस्तृत शान्ति सम्झौताका बाँकी काम यथाशक्य छिटो टुंगोमा पु¥याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

‘आज मंसिर ५ गते तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन। उक्त सम्झौतामा हस्ताक्षर गर्ने दलहरूमध्येका तीन जना शीर्ष नेताहरू बालुवाटारमा बसी शान्ति सम्झौताका बाँकी कामहरूलाई यथाशक्य छिटो टुंगोमा पु¥याउने प्रतिवद्धतासहित छलफल भयो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

तत्कालीन विद्रोही माओवादी र सात दलबीच २०६३ मंसिर ५ मा १२ बुँदे सम्झौता भएको थियो।

शान्ति सम्झौताअनुसार सेना समायोजन, राज्यको पुनःसंरचनासहित संविधान निर्माण कार्य सम्पन्न भएको छ।

तर, संक्रमणकालीन न्यायको टुंगो लागेको छैन। संक्रमणकालीन न्यायको टुंगो लगाउने विषयमा दलका नेताहरूबीच पटकपटक छलफल भए पनि सहमति जुट्न सकेको छैन।

यससँग सम्बन्धित विधेयक संसदमा विचाराधीन अवस्थामा रहेको छ।

 

 

Tags: