post-slider post-slider

‘प्रहरीसँग सबै तस्करको रेकर्ड छ, अनुसन्धान गरिए पत्ता लगाउन सकिन्छ’

Image
A A

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद रामप्रकाश चौधरीले नेपाल प्रहरीसँग सबै सुन तस्कर र डलर तस्करको रेकर्ड रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले नेपाल प्रहरीसँग सबैको रेकर्ड भएकाले राम्रोसँग अनुसन्धान गर्दा सबै पत्ता लगाउन सकिने बताएका हुन्।

‘यो टिआइएमा प्रहरी अधिकृतको रूपमा म स्वयं एक वर्ष काम गरिसकेको छु। आफ्नै हातले १७ किलो, १० किलो, ५ किलो जति सुन समातेको छु। त्यहाँ सँधै सुन फेलापर्छ,’ पूर्वप्रहरी अधिकृतसमेत रहेका चौधरीले भने,‘एक सयभन्दा बढी तरिकाले सुन लुकाएर ल्याइन्छ। मान्छेले निलेर पनि सुन र डलर ल्याउँदो रहेछ।’

कतिपय मान्छेले लुकाएर ल्याएको सुन र डलर अस्पतालमा लगेर पनि निकालिएको उनले बताए।

प्रहरीले राम्ररी अनुसन्धान गरे सबै तस्करलाई समाउन सकिने चौधरीको भनाइ छ।

‘प्रहरीमा सबैको रेकर्ड छ। सुन तस्कर र डलर तस्कर सबैको। यसलाई राम्रोसँग अनुसन्धान गरियो भने सबै पत्ता लगाउन सकिन्छ,’ उनले भने।

सांसद चौधरीले सबैभन्दा बढी अवैध सुन २०४५ सालमा समातिएको बताए।

‘सबैभन्दा बढी २०४५ सालमा करिब चार क्विन्टल सुन उपत्यकाका तत्कालीन डिआइजी रणबहादुर चन्दको कार्यकालमा बरामद भएको थियो। त्यतिखेर व्यवस्था अर्कै थियो, त्यसको व्यवस्था अर्कै हुन्थ्यो,’ उनले भने।

 

Tags: