सन् २०२३ मा प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना दर्ता
काठमाडौं- नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ।
महासंघले आइतबार विज्ञप्ति जारी गरेर यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको जनाएको हो।
विगतका वर्षमा जस्तै यस वर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना अभिलेख भएको बताउँदै महासंघले यसवर्ष पत्रकारको पेसागत असुरक्षा मुख्य चुनौतीको विषय बनेको उल्लेख गरेको छ।
महासंघले जनाएअनुसार अघिल्लो वर्षको तुलनामा यसपालि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा वृद्धि भएको छ।
सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ घटना अभिलेख भएकोमा यसपालि यो संख्या ५८ पुगेको छ।
त्यस्तै सन् २०२२ मा ६ वटा सञ्चार संस्था प्रभावित भएकोमा सन् २०२३ मा यो संख्या ५ रहेको महासंघले जनाएको छ।
महासंघले सन् २०२३ मा विभिन्न सञ्चार गृहमा देखिएका श्रम समस्या अर्थात पेसागत असुरक्षालाई मुख्य चुनौतीको रूपमा लिएको उल्लेख गरेको छ।
सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्यालाई महासंघले दबाबमूलक आन्दोलन, कानुनी लडाइँ तथा वार्ता र संवादसमेतको माध्यमबाट समाधानको पहल गरिरहेको जनाएको छ।
श्रम समस्याको दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाएर त्यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले सन् २०२३ मा सञ्चारसम्बन्धी कानुन निर्माणमा सुस्तता देखाएको महासंघको आरोप छ।
महासंघकै संलग्नतामा मस्यौदा भएका सञ्चारसम्बन्धी कानुन यथाशीघ्र प्रक्रियामा लैजना महासंघले सरकारलाई ध्यानाकर्षण गराएको छ।