post-slider post-slider

कोशीका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने, बहुमत पुग्ला?

Image
A A

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन्। भर्खरै सम्पन्न प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आजै विश्वासको मत लिने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। 

कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठकको कार्यसूची तयार गरेको छ। त्यसमा विश्वासको मतको प्रस्ताव पेश गर्ने पनि तय गरिएको छ।

उपसभामुख सिर्जना दनुवार अनुपस्थित हुने सूचना दिएकाले बैठक बस्ने कि नबस्ने भन्ने अन्योल थियो। उपसभामुख दनुवारले अध्यक्ष मण्डलका सदस्य इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी थिइन्।

प्रदेश सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलमा चार जना सदस्य तोकिएका थिए। जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिएकी थिइन्।

त्यस्तै, वर्णानुक्रमअनुसार पहिलो नम्बरमा रहेका अम्बरबहादुर विष्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका थिए। त्यसपछि उपसभामुख दनुवारले सांसद मन्सुरीलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी दिएकी हुन्।

उनले सभाको अध्यता गर्दा विश्वासको मतका लागि एक सांसद कम पर्ने देखिएपछि सत्तारूढ गठबन्धन अन्योलमा थियो। तर, कार्यव्यवस्था परामर्श समितिमा मन्सुरले पनि मतदान गर्ने सहमति बनेको बताइएको छ।

९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी (जसपा)का एक गरी ४७ सांसद छन्। विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। तर, सभाको अध्यक्षता गर्ने सांसदले मतदान गर्न नपाए मुख्यमन्त्री थापाले विश्वासको मत पाउन नसक्ने अवस्था छ।

त्यस्तै, प्रदेश सभामा एमालेका उपसभामुख सहित ४० र राप्रपाका ६ सांसद छन्। एमालेका सात र राप्रपाका ६ जना सांसदले उपस्थित नहुने जानकारी गराइसकेका छन्।

Tags: