post-slider post-slider

शुल्कवृद्धिविरूद्ध नेविसंघको प्रदर्शन

Image
A A

काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इन्जिनियरिङको शुल्कवृद्धिविरूद्ध मंगलबार पनि प्रदर्शन गरेका छन्।

नेविसंघआवद्ध विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) का डिन शशिधर राम जोशीको कार्यकक्ष परिसरमा प्रदर्शन गरेका हुन्।

शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघका विद्यार्थीले डिन जोशीको पुत्ला बनाएर विरोध जनाएका छन्।

जोशीको पुत्ला पुल्चोक क्याम्पसबाट बालुवाटारसम्म लैजाने तयारी भए पनि क्याम्पसबाट बाहिर निस्कनसाथ प्रहरीले प्रदर्शनकारीको हातबाट पुत्ला खोसेको थियो।

आइओईले गरेको शुल्कवृद्धिको विरोधमा ८ दिनदेखि आमरण अनशनमा बसेका पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत सुलभ चापागाईंको स्वास्थ्य कमजोर बन्दै गएपछि गएराति वीर अस्पतालमा भर्ना गरिएको छ।

शुल्कवृद्धि फिर्ता लिन एकसुत्रीय माग राख्दै नेविसंघ पुल्चोक क्याम्पस इकाइका सभापति चापागाईं अनशनमा बसेका हुन्। उनी सिभिलतर्फ सातौं सेमेस्टरमा अध्ययनरत छन्।

आइओईले गरेको शुल्कवृद्धि फिर्ता लिन सबैजसो विद्यार्थी संगठनले माग अघि सारेका छन्। यस विषयमा दुईपटक विद्यार्थी र डिन कार्यालयबीच वार्ता हुँदा पनि निष्कर्ष निस्किन सकेको छैन।

आइओईले भदौ ५ गते इन्जिनियरिङको स्नातक तह (बिई) मा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार भएको शुल्क सार्वजनिक गरेको थियो।

अस्वभाविक रूपमा शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्।

शुल्कवृद्धिको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि आइओईले आगामी शैक्षिकसत्रका लागि लिने भनेको इन्जिनियरिङ स्नातकतर्फको प्रवेश परीक्षासमेत स्थगित गरेको छ।

 

Tags: