post-slider post-slider

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरूद्ध जित्नैपर्ने दबाबमा पाकिस्तान

Image
A A

काठमाडौं- आइसिसी विश्वकप क्रिकेटअन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा दिउँसा २ : १५ बजे खेल सुरू हुनेछ।

पाकिस्तान यही मैदानमा तीन दिनअघि अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो।

विश्वकपमा टिकिरहन दक्षिण अफ्रिकाविरूद्धको खेल जित्नैपर्ने दबाबमा पाकिस्तान टिम रहेको छ।

अहिलेसम्म पाँच खेलमध्ये तीनवटामा हार बेहोरिसकेको पाकिस्तान अंकतालिकाको छैठों स्थानमा रहेको छ भने पाँचमध्ये चार खेल जितेको दक्षिण अफ्रिका यतिबेला दोस्रो स्थानमा छ।

आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्ससँग हार बेहोरेको दक्षिण अफ्रिका त्यसपछिका दुवै म्याच लगातार जितेको छ।

नेदरल्यान्ड्सविरूद्धको खेललाई छोडिदिने हो भने दक्षिण अफ्रिकाले सबै खेलमा ३ सयभन्दा बढी स्कोर बनाएर म्याच जितेको हो।

उसले बंगलादेशविरूद्ध ३८२, इंग्ल्यान्डविरूद्ध ३९९, अस्ट्रेलियाविरूद्ध ३११ र श्रीलंकाविरूद्ध ४२८ रन बनाएर सबै खेल जितेको थियो। यी सबै खेलहरूमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गरेको हो।

दोस्रो इनिङमा ब्याटिङ गर्दै नेदरल्यान्ड्सले दिएको २४६ रनको लक्ष्य पछ्याउँदा उसले हार बेहोर्नुपरेको थियो।

दक्षिण अफ्रिकाका अधिकांश ब्याटर र बलरहरू फर्ममा रहेका बेला पाकिस्तानले यो विश्वकपमा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन। त्यसैले दक्षिण अफ्रिकाविरूद्धको खेलमा जित निकाल्न पाकिस्तानलाई सहज नहुने आकलन गरिएको छ।

 

Tags: