post-slider post-slider

राजावादीहरूको प्रदर्शनलाई प्रतिवाद गर्ने एमालेको तयारी

Image
A A

काठमाडौं- नेकपा एमालेले संघीय गणतान्त्रिक लोकतन्त्रविरोधी गतिविधिको देशव्यापी रूपमा प्रतिवाद गर्ने भएको छ।

एमालेले देशव्यापी रूपमा जनसंगठन परिचालन गरेर लोकतान्त्रिक व्यवस्थाविरोधी गतिविधिको प्रतिरोध गर्ने तयारी गरेको हो।

७ मंसिरमा पार्टीको जनसंगठन युवा संघले काठमाडौंमा गर्ने प्रदर्शनको स्वामित्व पनि एमालेले लिने भएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको एक समूहले ७ मंसिरमै राजसंंस्था पुनःस्थापनाको माग राख्दै काठमाडौंमा प्रदर्शन गर्न तयारी गरेको छ। यो समूहले प्रदर्शनका क्रममा लाखौं मानिसलाई सडकमा उतार्ने दाबीसमेत गरेको छ।

राजसंस्था पुनः बहालीको माग राख्दै प्रसाईं समूहले कार्यक्रम तय गरेपछि एमालेसम्बद्ध युवा संघले पनि प्रदर्शन गर्ने जनाएको छ। युवा संघले मात्र गर्ने भनेको प्रदर्शनलाई पार्टीले नै स्वामित्व लिने भएको छ।

शनिबार एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको नेतृत्वमा भएको भेलाले ७ मंसिरमा युाव संघले गर्ने कार्यक्रमको स्वामित्व पार्टीले लिने र गणतन्त्रविरोधी गतिविधिको देशव्यापी रूपमा प्रतिरोध गर्ने निर्णय गरेको छ।

भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारकै कारण अराजकता फैलिएको र व्यवस्था विरोधीहरू सल्बलाउन थालेकाले प्रतिरोध गर्ने एमालेको दायित्व भएका बताए।

उनले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्न निर्देशन दिए।

७ मंसिरको जनप्रदर्शनमा एमालेका सबै जनसंगठन तथा पार्टीका नेता कार्यकर्ताहरूसमेत सहभागी हुने भएका छन्।

एमालेका युवा, विद्यार्थी, सम्पर्क कमिटीलगायत २३ वटा जनसंगठनहरूको अगुवाइमा प्रदर्शन हुनेछ।

एउटा अराजक झुन्डले सामाजिक अराजकता फैलाएको र राज्यको अर्थतन्त्रमाथि नै चुनौती थपिदिएको, बैंकको ऋण मिनाहा गरिदिन्छु, बैंकको ऋण तिर्नुपर्दैन भन्ने अफवाह फैलाएका कारण समाज झन विश्रंखलित हुँदै गएको एमालेको निष्कर्ष छ।

अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिले कुनै एक व्यक्तिलाई उचालेर देशभरबाट काठमाडौं मान्छे ल्याउन लागेको पनि बताए।

 

 

Tags: