महेन्द्रसिंह धोनी : क्रिकेटका ‘हस्ताक्षर’
काठमाडौं- सोमबार राति आइपिएलको ट्रफी उठाउने बेला चेन्नई सुपर किङ्सका कप्तान महेन्द्रसिंह धोनीले अम्बाटी रायडु र रवीन्द्र जडेजालाई अघि सारिदिए।
त्यसपछि टिमका सबै सदस्यलाई अघि सार्दै आफू पछाडि उभिएर गुम भइदिए।
एकपटक फेरि जितको खुसियालीका बेला उनी छायामा यसरी लुके कि खोज्दा पनि भेटिएनन्।
क्यामेराले फोकस गर्दा धोनी आफ्नो त्यो टिमको ठीक पछाडि उभिएका थिए जसले जितको खुसियाली मनाइरहेको थियो।
खुसियाली थियो चेन्नइ सुपर किङ्सको त्यो टिमको जसले धोनीको नेतृत्वमा पाँचौंपटक आइपिएल ट्रफी उठाइरहेको थियो।
खुसियाली नसकिँदै धोनी आफ्नो मुखर शैलीमा कतै अरू हिँडिदिए। क्यामेराले फेरि उनीमाथि फोकस ग¥यो। केही कदमको दूरीमा उनी ग्राउन्ड स्टाफका बीच उभिएका थिए। उनीहरूसँग तस्बिर लिइरहेका थिए।
धोनीको यो पुरानो चिरपरिचित अन्दाज हो, जसलाई सबैले वर्षौंदेखि हेर्दै आइरहेका छन्।
क्याप्टन कुल जसले विशाल जितका बाबजुद संयमका साथ आफ्नो अनुहारमा समान्य मुुस्कानमात्र ल्याउँछन्।
केही बेरपछि धोनी कमेन्टेटर हर्ष भोगलेको सामुन्ने उभिएर उनको प्रश्नहरूको सामना गरे।
धोनीसँग हर्षको प्रश्न थियो– सन्यासबारे अब के सोच्नु भएको छ?
धोनीले जवाफ दिए,‘यदि अवसरलाई हेर्ने हो भने सन्यासको घोषणाका लागि यो सबैभन्दा उपयुक्त समय हो। जबकि ९ महिना कडा मिहिनेत गर्नु र अर्को एक आइपिएल सिजन खेल्नु कठीन काम। शरीरलाई मजबुत राख्नुपर्ने हुन्छ। तर, सिएसकेका प्रशंसकहरूबाट मैले प्रगाढ माया पाएको छु, उनीहरूका लागि अर्को एक सिजन खेल्नु उपहार हुनेछ।’
पाँचौंपटक आइपिएल उपाधि हात पारेपछि धेरैको आकलन थियो– ४१ वर्षीय धोनीले अब सन्यास घोषणा गर्नेछन्।
तर, उनले सन्यासका लागि भइरहेका आकलनहरूलाई किनारा लगाउँदै अबको ९ महिनापछि हुने आइपिएलको १६ औं संस्करणमा पनि मैदानमा उत्रिने संकेत गरेका छन्।
र, यसका लागि उनले प्रशंसकहरूका तर्फबाट पाइरहेको माया र स्नेहलाई प्रमुख कारण बताएका छन्।
‘जसरी उनीहरू आफ्नो माया र इमोसन देखाएका छन्, यसका लागि मैले केही गर्नुपर्छ भन्ने मलाई लागेको छ। म मेरो करियरको अन्तिम समयमा आइपुगेको छु। यो यहीँबाट सुरू भएको थियो र सबैले जोर–जोरले मेरो नाम लिइरहेका थिए। चेन्नईमा पनि यस्तै हुन्छ,’ धोनीले भने।
जस्तोसुकै भए पनि फेरि एकपटक आइपिएल खेल्ने आफ्नो चाहना भएको उनले बताए।
धोनीले भने,‘जे जस्तो भए पनि एकपटक फेरि खेल्नु राम्रो हुनेछ। म जुन प्रकारको क्रिकेट खेल्छु, आफूहरूले पनि खेल्नसक्ने उनीहरूलाई लागेको छ। मसँग जे छैन त्यसलाई देखाउने प्रयास गर्दिनँ। म आफूलाई सरल राख्न मन पराउँछु।’
क्रिकेट करियरमा धोनीसँग कैयौैं कीर्तिमानहरू जोडिएका छन् नै। यसका आलावा सरल व्यक्तित्व, दबाब सामना गर्नसक्ने क्षमता, टिमलाई एकजुट बनाएर अगाडि लैजाने कलाले क्याप्टेन कुलका उपाधि पाएका धोनी क्रिकेटका लागि एक हस्ताक्षर बनिसकेका छन्।
त्यसैले त टिमको हारपछि पनि गुजरात टाइटन्सका कप्तान हार्दिक पान्ड्याले धोनीतर्फ संकेत गर्दै भने,‘असल मान्छेसँग भगवानले पनि असल गर्छन्।’