post-slider post-slider

धरानमा निषेधाज्ञाबीच सुरक्षाकर्मीको बाक्लो उपस्थिति, सार्वजनिक यातायात ठप्प

Image
A A

काठमाडौं- स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि धरानमा शनिबार बिहानैदेखि मानिसहरूको चहलपहल न्यून देखिएको छ।

निषेधाज्ञाका कारण धरान हुँदै कोसी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्।

धरानबाट अन्यत्र जाने र अन्य ठाउँबाट धरान भित्रिने सार्वजनिक सवारीको आवतजजावत करिब ठप्प रहेको छ।

धरानमा बजार खुला छ। स्थानीय यातायातका लागि प्रयोग गरिने टेम्पो र मोटरसाइकललगायतका केही निजी सवारीसाधन भने अवरूद्ध नभएको बताइएको छ।

धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको स्थानीयवासीले बताएका छन्।

इटहरीहुँदै धरान जाने सबैजसो सवारीसाधनलाई इटहरीको तरहरा क्षेत्रबाट प्रहरीले रोकेर फिर्ता पठाएको छ।

विभिन्न धार्मिक संघसंस्थाले शनिबार धार्मिक ¥याली आयोजना गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरान क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।

धरानमा केही मानिसले गोरु काटेर मासु खाएको भनिएको विवरण सार्वजनिक भएपछि चलेको बहस र त्यससँगै उत्पन्न विवादपछि सम्भावित दुर्घटना टार्न स्थानीय प्रशासनले धरान उपमहानगरपालिका क्षेत्रभिक निषेधाज्ञा जारी गरेको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सामूहिक रूपमा राजनीतिक, सामाजिक, धार्मिक भेला प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाइएको जनाएको छ।

धरान प्रवेश गर्ने सबै नाकाहरूमा सुरक्षा कडाइ गरिएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताएका छन्।

गृह मन्त्रालयका अधिकारीहरूले धरानामा सुरक्षा व्यवस्था चुस्त राख्न प्रहरी प्रशासनलाई सतर्क रहन निर्देशन दिइएको जनाएका छन्।

यो विषयलाई लिएर संघीय संसदमासमेत चर्चा र चिन्ता व्यक्त गरिएको थियो।

स्थानीय प्रशासनले धरानमा केही दिनदेखि चर्किएको यो विवादले शान्ति सुरक्षा र सामाजिक सद्भाव खलबलिनबाट रोक्न आवश्यक पहल भइरहेको जनाएको छ।

विभिन्न राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गरी सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन्।

गोरुको मासु खाएको भनिएको घटनालाई एउटा पक्षले आफ्नो जातीय, सांस्कृतिक र धर्मनिरपेक्षताले दिएको अधिकारको रूपमा व्याख्या गर्ने गरेको छ।

हिन्दूलगायतका धार्मिक संस्थाहरूले चाहिँ त्यससलाई धार्मिक र सामाजिक सद्भाव बिथोल्ने प्रयासका रूपमा त्यसलाई चित्रण गरेका छन्।

एक साताअघि भएको भनिएको यो घटनाको फोटो र भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक गरिएको छ।

त्यसपछि घटनाको समर्थन र विपक्षमा सडक प्रदर्शन गर्ने विवरण सार्वजनिक भएपछि धरानमा सामाजिक सद्भावका लागि पहल थालिएको थियो।

हिन्दू धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाको अगुवाइमा शनिबार धरानमा ‘गौहत्याविरूद्ध प्रदर्शन गर्ने’ घोषणा गरिएसँगै त्यसलाई रोक्न पहल भएका थिए।

 

Tags: