post-slider post-slider

सत्ता गठबन्धन बैठक : एनसेल सेयर खरिदबिक्रीका विषयमा छानबिन गर्नुपर्ने निष्कर्ष

Image
A A

काठमाडौं- सत्ता गठबन्धनले एनसेलको स्वामित्व खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले यस्तो निकर्ष निकालेको हो।

बैठकले एनसेलको सेयर खरिदबिक्रीको विषय गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गनुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाअनुसार खरिदबिक्री नभएको बैठकले निष्कर्ष निकालेको बताए।

उनले सेयर खरिदबिक्रीको विषय शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष वैठकले निकालेको बताए।

यो विषयमा प्रधानमन्त्रीले आफू गम्भीर रहेको बताएको लेखकले जानकारी दिए।

‘यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। देशको हित प्रतिकुल कुनै काम हुन नदिने र नेपालको प्रचलित कानुनबमोजिम अध्ययन गर्ने कुरा भएको छ,’ उनले भने।

लेखकले एनसेल सेयर खरिदबिक्रीका विषयमा मन्त्रिपरिषदले पनि निर्णय गर्ने र यसको तहसम्म नै पुगेर छानबिन तथा अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको बताए।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँगै सरकारमा दलका शीर्ष नेताहरू सहभागी थिए।

दुई महिनाअघि बेलायतमा स्थापना गरिएको स्पेक्ट्रलाइट युकेले एजियटाको हिस्सामा रहेको एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको छ।

नेपाली मूलका सिंगापुरका नागरिक सतिशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युकेले एनसेलमा रहेको एजियटाको ८० प्रतिशत सेयर खरिद गरेको हो।

बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको यो कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरू भएको हो।

नेपालमा व्यवसायका लागि प्रतिकूल वातावरण र झन्झटिलो कर प्रणालीलाई देखाउँदै एनसेलबाट बाहिरिएको एजियटाले बताएको छ।

एजियटाले आफ्नो हिस्साको स्वामित्व ६ अर्बमा बिक्री गर्दै स्पेक्ट्रलाइट युकेसँग अरू सम्झौताहरू पनि गरेको छ।

सात वर्षअघि एजियटाले १ खर्ब ४३ अर्ब रूपैयाँमा एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको थियो। 

एजियटाले एनसेलबाट बाहिरिन स्पेक्ट्रलाइट युकेलाई ५ करोड अमेरिकी डलर ९६ अर्ब ६६ करोड रूपैयाँ० बिक्री गरेको देखिए पनि यसभित्र अरू पनि समझदारीहरू भएका छन्।

एजियटा र स्पेक्ट्रलाइट युकेबीच एनसेलको सेयर किनबेच गर्न सेयर पर्चेज एग्रिमेन्ट ९एसपिए० भएको छ।

यो एसपिएअनुसार स्पेक्ट्रलाइट युकेले एजियटालाई दुईवटा समयतालिकामा भुक्तानी गर्नुपर्नेछ।

स्पेक्ट्रलाइटले ६ महिनाभित्र एजियटालाई ५० लाख अमेरिकी डलर र ४८ महिनाभित्र ४ करोड ५० डलर भूक्तानी गर्ने सहमति छ।

यसबाहेक एजियटाले एनसेलबाट सन् २०२९ सम्म लाभांश लिने गरी स्पेक्ट्रलाइटले सम्झौता गरेको छ।

सम्झौताअनुसार सन् २०२३ मा एजियटाले आफ्नो हिस्सा ८० प्रतिशतको सतप्रतिशत लाभांश लिनेछ।

२०२४ र २०२५ मा ४० प्रतिशत, २०२६ र २०२७ मा ३० प्रतिशत र २०२८ र २०२९ मा २० प्रतिशत लाभांश लिने सम्झौता छ।

एनसेलले नाफा गरेपछि लाभांश बाँडफाँट हुने दुवै पक्षबीच समझदारी भएको छ। त्यो लाभांश स्पेक्ट्रलाइट युकेको खातामा पुगेपछि त्यहाँबाट एजियटालाई भुक्तानी गर्ने समझदारी छ।

त्यसबाहेक यदि स्पेक्ट्रलाइट युकेले यो समयभित्र आफ्नो सेयर अरू कसैलाई बिक्री गरे पनि त्यसको हिस्सासमेत एजियटाले पाउने सहमतिमा उल्लेख छ।

सेयर बिक्री गर्दा स्पेक्ट्रलाइट युकेसँग भएको समझदारीअनुसार एजियटा ऋणको दायित्वबाट मुक्त भएको छ। 

यतिबेला कम्पनीले तिर्नुपर्ने ऋण ३० अर्ब बढी रहेको छ।

अब यो दायित्वको थैली एजियटाको ८० प्रतिशत सेयर खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युकेमाथि पुगेको छ। एजियटासँग भएको सम्झौताअनुसार एजियटाको भागमा परेको ऋण अब स्पेक्ट्रलाइटले तिर्नुपर्ने हुन्छ।

 

Tags: