post-slider post-slider

एनसेल प्रकरणमा सांसद सिंहले दर्ता गरेको रिट ‘हेर्न नभ्याइने’ मा

Image
A A

काठमाडौं- एनसेल सेयर खरिदबिक्री प्रकरणविरूद्ध प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ मा परेको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने’ मा परेको हो।

सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग र एनसेललाई विपक्षी बनाएर शुक्रबार रिट दर्ता गराएका थिए।

यसअघि उच्च अदालत पाटनमा दायर एनसेलविरूद्धको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भइसकेको छ।

उच्च अदालत पाटनले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया रोक्नका लागि आदेश दिएको छ।

अदालतको यो आदेशपछि पनि एनसेलले सेयर बिक्री गर्न नपाउने भइसकेको छ।

कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानी पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिदबिक्री भएको दाबी गर्दै सांसद सिंह आफैंले रिट निवेदन दर्ता गराएका हुन्।

यो निवेदनको सुनुवाइमाथि उनले संसदको लागो फुकालेर आफैं बहस गर्ने बताएका छन्।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको मलेसियाको एजियाटा कम्पनीले हालसालै नेपाली मुलका सिंगापुरका नागरिक सतिशलाल आचार्य संस्थापक रहेको स्पेक्ट्रलाइट युके कम्पनीलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेपछि विवाद चर्र्किएको हो।

प्रधानमन्त्रीकी छोरीमाथि संलग्न भएको दाबी

प्रतिनिधिसभा सदस्य सिंहले एनसेल सेयर खरिदबिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहाल संलग्न रहेको दाबी गरेका छन्।

प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी गंगा एनसेल प्रकरणमा संलग्न रहेको दाबी गर्दै सिंहले आफूसँग सबै प्रमाण सुरक्षित गरहेको बताएका छन्।

‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छन्, त्यो सबै प्रमाण मसँग सुरक्षित छ। समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु,’ सिंहले सामाजिक सञ्जालमा लेखेका छन्।

 

Tags: