post-slider post-slider

सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट

Image
A A

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ।

अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा मंगलबार आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालू आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन्।

यो संशोधित बजेटभन्दा २१.५६ प्रतिशत धेरै हो। चालू वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो। सरकारले चालू बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ। यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो।

पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ। यो कुल बजेटको १८.९४ प्रतिशत हो। वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ। यो कुल बजेटको १९.७४ प्रतिशत हो।

यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ। अघिल्लो वर्ष ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण भएको थियो।

खर्च व्यहोर्ने स्रोततर्फ राजस्वबाट सरकारले १२ खर्ब ६० अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखेको छ। यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलनको लक्ष्य राखेको छ।

आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब संकलन गर्ने लक्ष्य रहेको छ। वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने अर्थमन्त्री पुनले बजेट भाषणमा बताए।

Tags: