post-slider post-slider

पान्ड्याले श्रीलंकाविरूद्धको खेल पनि गुमाउने

Image
A A

काठमाडौं- भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पान्ड्याले श्रीलंकाविरूद्धको खेल पनि गुमाउने भएका छन्।

बिहीबार मुम्बईमा हुन लागेको श्रीलंकाविरूद्धको खेल पान्ड्याले खेल्न नपाउने भएका हुन्।

भारतीय टिमले अहिलेसम्म विश्वकप प्रतियोगितामा सबै ६ खेल लगातार जितेको छ। पान्ड्या टिमका महत्वपूर्ण खेलाडी हुन्। उनको उपस्थितिले भारतीय टिमलाई ब्याटिङका साथै बलिङमा मदत पुग्ने गरेको छ।

चोटका कारण पान्ड्याले पछिल्लो दुई म्याच खेल्न पाएका छैनन्।

पुणेमा बंगलादेशविरूद्ध बलिङ गरिरहेका बेला आफ्नै बलिङमा लिटन दासको ‘स्ट्रेट ड्राइभ’ रोक्ने प्रयास गर्दा उनलाई गोडामा चोट लागेको थियो।

पान्ड्याको बेंगलुरूस्थित नेशनल क्रिकेट एकेडमी (एनसिए) मा उचपार भइरहेको छ।

बंगलादेशविरूद्धको खेलमा घाइते हुनुअघि उनले यो विश्वकपको तीन म्याचमा पाँच विकेट लिएका छन्।

पान्ड्या न्युजिल्यान्ड र इंग्ल्यान्डविरूद्धको महत्वपूर्ण म्याचहरूमा टिमको हिस्सा हुनसकेका थिएनन्।

जारी विश्वकपमा भारत सेमिफाइनलमा पुग्ने लगभग निश्चित छ। नकआउट म्याचअघि पान्ड्या टिममा फर्किउन् भन्ने टिम व्यवस्थापनले चाहेको छ।

पान्ड्या बाहिर भएपछि भारतीय प्लेइङ–११ मा दुईवटा परिवर्तन भएको छ।

टिममा मोहम्मद शमी र सूर्यकुमार यादवले मौका पाएका छन्।

 

Tags: