post-slider post-slider

ओली लक्षित उपेन्द्रको टिप्पणी : मोर्चा देखेर बर्बाउन र तर्सिन पर्दैन

Image
A A

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा देखेर कोही बर्बाउन र तर्सिन आवश्यक नरहेको बताएका छन्।

मोर्चा घोषणा कार्यक्रममा जसपा अध्यक्ष यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

‘मोर्चाका कारण कोही तर्सिनुपर्दैन, यो कोहीविरूद्ध लक्षित छैन,’ उनले भने,‘धेरै मानिसहरू तर्सिएको देखियो। घोषणा हुनुअघि नै केही साथीहरू मिडियमा बर्बारहेको देख्यौं। देशमा अग्रगमका लागि हामी एक भएका हौं।’

एमाले अध्यक्ष ओलीले केही दिनअघि समाजवादी मोर्चा एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा बनाउन लागिएको टिप्पणी गरेका थिए।

मोर्चालाई बार्गेनिङको थलो बनाउन खोजेको उनको भनाइ थियो।

जसपा अध्यक्ष यादवले विगतमा भएका फुटको राजनीतिबाट पाठ सिकेर मोर्चा गठन भएको दाबी गरे।

‘विगतमा छुट्टिएर बन्दै गरेका कारण पनि यस्तो आशंका हुनसक्छ, त्यसलाई व्यवहारबाट गलत साबित गर्दै वैचारिक राजनीतिक आधारमा निर्माण गरिएको मोर्चो यो हो,’ उनले भने।

जसपा अध्यक्ष यादवले संसदबाट दुई दुईपटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा केहीलाई टाउको दुखाइ भएको आरोप लगाए। 

उनले नेपाली बाबुआमाका सन्तानलाई नागरिकता नदिने षडयन्त्र भइरहेको जिकिर गरे।

‘संसदले दुई दुईपटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा केहीलाई टाउको दुखेको छ। नेपाली बाबुआमाका सन्तानलाई नागरिकता नदिने षडयन्त्र हो। षडयन्त्रका विरूद्ध उभिन सबैलाई आग्रह गर्दछु,’ यादवले भने।

विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन अहिले विभिन्न खेल भइरहेको बताउँदै उनले त्यसका विरूद्ध संघर्ष गर्न मोर्चा तयार रहेको बताए।

 

Tags: