post-slider post-slider

प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल आर्सनलसँग हार्‍यो

Image
A A

काठमाडौं - इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलसँग पराजित भएको छ।

आइतबार राति आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनल ३-१ ले विजयी भएको हो।

आर्सनलको जितमा बुकायो साका, गाब्रिएल मार्टिनेली र लियान्द्रो ट्रोसार्डले एक-एक गोल गरेका थिए।

खेलको १४औं मिनेटमा साकाले गोल गर्दै खेलमा आर्सनलका लागि सुरुवाती अग्रता दिलाएका थिए। काई हाभेर्ट्जको प्रहार लिभरपुल गोलरक्षक एलिसनले बचाएपछि साकाले बललाई सहजै जाली चुमाएका थिए।

पहिलो हाफको अन्त्यतिर लिभरपुलले बराबरी गोल गर्‍यो। लुइज डियाजको क्रस आर्सनल डिफेन्डर गाब्रिएल माघालेसले आफ्नै जालीमा हालेपछि लिभरपुलले खेलमा बराबरी गोल गर्‍यो।

दोस्रो हाफमा आर्सनलमाथि लगातार आक्रमण बुनेको लिभरपुलले दुई गोल खान पुग्यो।

६७औं मिनेटमा लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक र गोलरक्षक एलिसन बीचमा तालमेल नमिलेपछि मार्टिनेलीले गोल गरेका थिए। बक्सको छेउमा क्लियर गर्न आएका एलिसनले क्लियर गर्न नसकेपछि मार्टिनेलीले सहजै बललाई पोस्टको दिशा दिए।

८८औं मिनेटमा लिभरपुल दस जनामा सीमित भयो। डिफेन्डर इव्राहिम कोनाटे दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसको चार मिनेटमा आर्सनलले अर्को गोल थप्यो।

इन्ज्युरी समयको दोस्रो मिनेटमा ट्रोसार्डले सुन्दर गोल गर्दै खेलमा आर्सनलको जित सुनिश्चित गरे।

जितपछि आर्सनलले शीर्ष स्थानको दुरी घटाएको छ। दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अंक छ। लिभरपुल २३ खेलमा ५१ अंकसहित शीर्ष स्थानमा कायम छ।

तेस्रो स्थानमा रहेको र २१ खेल खेलेको म्यानचेस्टर सिटी दुई जित सहित शीर्ष स्थानमा उक्लिन सक्ने छ। सिटीले सोमबार ब्रेन्टफर्डको सामना गर्ने छ।

 

Tags: