post-slider post-slider

सहकारी रकम ठगी गरेको आरोपमा अध्यक्ष र उपाध्यक्ष पक्राउ

Image
A A

काठमाडौं- बचतकर्ताको रकम ठगी गरेको आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन्।

बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो।

पक्राउ परेका सहकारीका अध्यक्ष सुनुवार माओवादी केन्द्र ओखलढुङ्गाका जिल्ला सचिव हुन्।

जिल्लाको चम्पादेवी गाउँपालिका–९ बिलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष सुनुवारलाई काठमाडौं महानगरपालिका–६ बौद्धबाट र मोलुङ गाउँपालिका–४ हर्कपुर ओखलढुङ्गाका खत्रीलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो।

बचतकर्तामध्येका तिलक श्रेष्ठले गत मंसिर १५ गते सहकारीका सञ्चालकविरूद्ध जाहेरी दर्ता गरेका थिए।

सहकारी संस्थानमा राखेको बचत रकम झिक्न खोज्दा विभिन्न बहानामा सहकारीका सञ्चालकले रकम फिर्ता नगरेको भन्दै कानुनअनुसार कारबाहीको माग गरेर बचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

उजुरी प्राप्त भएपछि प्रहरीले उजुरीकर्ता र सहकारी सञ्चालकलाई समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालयमा छलफल गराएको थियो।

एक साताभित्र बचतकर्ताको रकम फिर्ता गर्ने सहमति गरेका अध्यक्ष सुनुवारसहितका पदाधिकारी रकम फिर्ता नगरेर सम्पर्कविहीन भएपछि प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको थियो।

अनौपचारिक सहमतिका आधारमा तोकिएको समयमा पनि बचतकर्ताको रकम फिर्ता नभएपछि अदालतले सहकारी सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएपछि सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारी फरार भएका थिए।

सहकारीका अन्य पदाधिकारी पनि फरार रहेको बताइएको छ।

 

Tags: