post-slider post-slider

नेकाको पाँचौं वार्षिकोत्सवमा सम्पन्न

Image
A A

काठमाडौं, माघ २८ - राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

शुक्रबार लिसारा रिसेप्सनको हलमा आयोजित एक कार्यक्रमका बीच संस्थाले साधारण सभा सम्पन्न गरेको हो।

नेका अध्यक्ष सन्तोष प्याकुरेलको सभापतित्व तथा संघीय संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा रास्वपाका सहप्रवक्ता मनिस झा, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, रास्वपा सांसद विराजभक्त महर्जन, जसपा नेता भीम राई, युवा क्रिकेटर अविनाश बोहरासहित विभिन्न संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा रहेका थिए।

कार्यक्रममा नेका सदस्य परामर्श व्यवसायीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई शुभकामना दिँदै संघीय सांसद विराजभक्त श्रेष्ठले परामर्श व्यवसाय क्षेत्रका विविध समस्याहरू समेटेर नेकाले बुझाएको ध्यानाकर्षण पत्र आफ्नो पार्टीले पाएको र त्यसलाई अब संसदीय दलमा लगेर छलफल गराउने तयारी रहेको उल्लेख गरे। उनले अब नेपाली विद्यार्थीहरू के पढ्न जाने भन्ने कुरामा परामर्श केन्द्रित हुन जरुरी भएको भन्दै व्यक्तिलाई के पढ्दा भविष्य निर्माण हुन्छ भन्ने बुझाउन परामर्श व्यवसायीले सक्नुपर्ने बताए।

आज नेपालीहरू श्रमिक मात्र बन्ने होइन, विश्वका विभिन्न देशमा उच्च पदमा बसेर समेत काम गर्न सक्षम भएकोमा खुसी हुनुपर्ने उनको भनाइ थियो। नेपालको कूटनीति कमजोर हुँदा नेपाली व्यवसायीलाई काम गर्न भएको कठिनाइ आफूले बुझेको भन्दै नेपालको कूटनीति सुधार्नका लागि उनले शैक्षिक परामर्श व्यवसायीहरू सँग सुझाव माग गरे। अब नेपाली विश्वविद्यालयमा विदेशी विद्यार्थी पढाउने तिर नेपालले सोच्नुपर्ने श्रेष्ठले उल्लेख गरे।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले परामर्श व्यवसायमा देखिएको समस्या प्रति आफूहरू चिन्तित रहेको भए पनि परामर्श व्यवसायीले रेमिटेन्स बारे गलत तथ्यांक दिने गरेको भन्दै आक्रोश व्यक्त गरे। अध्ययन गर्न विदेशिने धेरै विद्यार्थी देश नफर्किने र उनीहरूले पैसा पनि नेपाल नपठाउने उनको भनाइ थियो।

राजनीतिक नेतृत्वले यो देश न हुने खानेको बनाउन सकेको न हुँदा खानेको बनाउन सकेको भन्दै उनले हरेक क्षेत्रलाई ध्वस्त बनाउने राजनीतिकरणको अन्त्य हुनुपर्ने धारणा राखे। विश्वका विभिन्न देशका विकासको क्रमको उदाहरण प्रस्तुत गरेका उनले गुणस्तरीय शिक्षा दिन सक्ने नाम चलेका विश्वविद्यालयमा मात्रै नेपाली विद्यार्थी पठाउन आग्रह गरे।

गलत परामर्शले शिक्षा र धन दुबै नरहने अवस्था आउन सक्ने तर्फ उनले व्यवसायीहरूलाई सचेत गराए। देशमा राजनीति गर्छु भन्नेहरूले देशका विश्वविद्यालयलाई बर्बाद बनाएको, आफ्नालाई जागिर खुवाउन विश्वविद्यालय खोलेको लगायतका आरोप लगाएका उनले बिदेसिने क्रम यही अनुपातमा रहे १० वर्ष पछि देशको हालत नराम्रो हुने टिप्पणी गरे।

शुभकामना दिन मञ्चमा उक्लिएका जसपा नेता भीम राईले भने पूर्ववक्ता अमरेशकुमारलाई प्रश्न गर्नमै अधिकांश समय खर्चिए। कानुन निर्माताहरूले आफू त्यो ठाउँमा बसेर निराशा छर्नु नहुने उनको धारणा थियो। अक्सफोर्ड, क्याम्ब्रिज, एमआइटीमा विद्यार्थी किन पठाइएन भनेर प्रश्न गर्ने सांसदले हाम्रा विद्यार्थी त्यहाँ पढ्न योग्य छन् कि छैनन् भनेर बुझ्नुपर्दैन? भन्दै उनले प्रतिप्रश्न गरे। उपदेश बाँडेर देश नबन्ने भन्दै उनले कानुन निर्माताले म्यानपावर र परामर्श व्यवसायीको फरक छुटाउन सक्नुपर्ने भनाइ राखे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सह-प्रवक्ता समेत रहेका सांसद मनिष झाले आफू तथ्यांकमा कुरा गर्न रुचाउने भन्दै बसाइसराइ भएन भने देश विकास हुन नसक्ने उल्लेख गरे। भू-राजनीतिको अर्को लक्ष्य अब एसिया बन्न लागेको विचार राखेका उनले नेपाल बाट बिदेसिने प्रचलन र त्यसको इतिहासको चर्चा गरे। एनओसिको तथ्यांकलाई अन्तिम तथ्यांक मानेर देश बर्बाद भयो भन्नु अल्प ज्ञान मात्रै भएको भन्दै उनले आफू त्यसमा विश्वास नगर्ने बताए। त्यो मान्छेलाई आतंकित बनाउने तथ्यांक हो भन्ने कुरा धेरै सांसदहरूले समेत नबुझेको उनको भनाइ थियो।

शिक्षा र सूचना/जानकारीको फरक छुटाउन नेपालमा नसकिएको, एउटा विश्वविद्यालयले काम गर्न सकेन भनेर अरू थप्ने काम गरेको, ७ दशक अघि बनेको विश्वविद्यालयलाई ध्वस्त पार्ने काम भएको, कन्टेन्ट चोरहरूलाई त्रिविको उपकुलपति बनाउने प्रयास गरिएको र यी सबै थोक बिगारेर देशमा बस्ने वातावरण नभेपछि विदेशिनेलाई रोक्न खोजिएको भन्दै उनले आक्रोश व्यक्त गरे। सांसद झाले नेपालमा बौद्धिक दरिद्रता मौलाइरहेको र यसले हामीलाई कहीँ नपुर्‍याउने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि जोशीले नेपाललाई शैक्षिक हब बनाउनेतिर ध्यान दिन सम्बद्ध सबैलाई आग्रह गरे। उनले शैक्षिक परामर्श संघहरुले काठमाडौँ विश्व विद्यालय जस्ता विदेशी विद्यार्थी पढाउन तयार विश्व विद्यालयहरूलाई विद्यार्थी ल्याइदिएर सहयोग गर्नुपर्ने धारणा राखे। नेपालमा जताततै निराशा मात्रै पोख्नुपर्ने अवस्था बनाएको भए पनि समस्या सँगै देशमा अवसर पनि रहेको उल्लेख गरे। उनले शैक्षिक परामर्शसँग सम्बन्धित नीति नियम बनाउँदा सम्बन्धित सरोकारवालाहरू सँग छलफल गरेर, आवाज समेटेर नै बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका सभापति तथा नेका अध्यक्ष प्याकुरेलले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। उनले कार्यक्रम लामो भएको भए पनि व्यवसाय क्षेत्रमा देखिएको समस्या बारे छलफल गराएर निचोड निकाल्ने संस्थाको उद्देश्य पूरा भएको बताए। सांसदहरू तथा शिक्षा समिति सभापतिले प्रतिबद्धता गरे अनुसार नीति निर्माणमा सरोकारवालाको आवाज समेटिने छ भन्नेमा संस्था विश्वस्त रहेको उनले उल्लेख गरे। परामर्श व्यवसाय क्षेत्रलाई मिनी म्यानपावर बनाउने प्रयास भइरहेको भन्दै उनले आफूहरूले त्यो योजना सफल हुन नदिने बताउँदै कार्यक्रम समापन गरे।

Tags: