post-slider post-slider

भारतीय बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो, भारतले केन्द्रीय मन्त्री पठाउँदै

Image
A A

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

शुक्रबार आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐन पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो। बसमा भारतीय पर्यटकहरू सवार थिए।

कूल ४३ जना सवार रहेको उक्त बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए।

घाइतेहरूलाई भेट्न भारतले केन्द्रीय मन्त्री पठाउँदै

बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाउने भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौं आउने भएकी छिन्।

उनका साथमा महाराष्ट्र जलगांवका एक जना विधायक पनि आउने जानकारी गराइएको छ।

घाइते १६ भारतीय यात्रीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ।  घाइते यात्रुको उपचारको लागि  अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ।

दुर्घटनामा परेर सामान्य घाइते भएका तीन जनालाई काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको थियो।

Tags: