post-slider post-slider

बालेनलाई प्रचण्डको गुनासो – जवाफ नसुनेर हिँड्नेसँग ‘इरिटेसन’ हुन्छ

Image
A A

काठमाडौं- ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको कार्यक्रममा अतिथिका रूपमा आमन्त्रित काठमाडौंका मेयर बालेन्द्र साहले प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नदी क्षेत्रको अतिक्रमण हटाउन सहयोग मागे।

मेयर साहले थापाथली, तीनकुनेलगायतका ठाउँमा बागमती नदीमा भएको अतिक्रमण हटाउने प्रयास गरेका थिए। तर, ती क्षेत्रलाई उनले अतिक्रमणमुक्त गराउन सकेनन्।

संघीय सरकारका तर्फबाट सहयोग नपाउँदा काठमाडौंको नदी क्षेत्रमा भएको अतिक्रमण हटाउन नसकिएको उनको सुरूदेखि गुनासो थियो। संघीय सरकारले नै खोला क्षेत्रको अतिक्रमण हटाउन चासो नदिएको उनको बुझाइ छ।

सोमबार प्रमुख अतिथिका रूपमा प्रचण्ड उपस्थित भएको कार्यक्रममा मेयर साहले फेरि अतिक्रमणकै कुरा निकाले।

‘फुटपाथको अतिक्रमण स्थानीय तहले रोक्न सक्छ। तर, खोला अतिक्रमण सम्मानीयज्यूले चाहनुभयो भने समाधान हुन्छ,’ प्रधानमन्त्री प्रचण्डतर्फ इंगित गर्दै साहले भने।

आफ्नो भनाइ राखेर मेयर साह कार्यक्रमबाट हिँडेका थिए।

जवाफै नसुनेर साह हिँडेपछि प्रचण्डले गुनासो गरे। र, भने– जवाफै नसुनेर हिँड्नेसँग मलाई ‘इरिटेसन’ हुन्छ।

पहिला बोलेर जवाफै नसुनेर हिँड्न नहुने उनको भनाइ थियो।

प्रचण्डले भने,‘अहिले बालेन्द्रजी गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुरा जे भन्नु छ भनिहाल्ने। अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्नुहुँदैन। बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने बेलासम्म।’

प्रचण्डले खोला अतिक्रमणदेखि फोहोरमैला व्यवस्थापनका लागि आफूजति कुनै पनि प्रधानमन्त्रीले सक्रियता नदेखाएको मेयर साहलाई स्मरण गराए।

उनले भने, ‘उहाँले भन्नुभयो। यहाँबाट निस्कने बित्तिकै हुन्छ। म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने तपाईंले चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई लिएर होस्, या तीनकुनैको कुरालाई होस्। फोहोरमैला व्यवस्थापनका निम्ति उपत्यकाभित्र मिलेर काम गर्ने विषयमा कतिपटक सिंहदरबारमा बैठक भयो। अहिलेको प्रधानमन्त्रीजस्तो रचनात्मक र सकारात्मक ढंगले समन्वय गरेको अर्को कसैलाई देख्नुभएको छ?’

प्रचण्डले उपत्यकाको विकासका लागि मेयर साहले समन्वय नगरेको गुनासो गरे।

‘काठमाडौंको मेयर भएका नाताले ललितपुर र भक्तपुरका महानगरसँग समन्वय गर्नुपर्ने दायित्व होइन?,’ उनले भने,‘मैले गरेको सकारात्मक कामलाई सकारात्मक सोचसहित रिकग्नाइज नगर्दिनु सकारात्मक सोचलाई प्रोत्साहन नदिने हो।’

 

Tags: