post-slider post-slider

कांग्रेस सांसदहरूलाई काठमाडौं नछोड्न निर्देशन

Image
A A

काठमाडौं - नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न पार्टीको निर्देशन पठाएका हुन्।

केही महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर पार्टीले यस्तो निर्देशन जारी गरेको बताइएको छ।

तर, सत्तारुढ दलहरूले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेकाले सो निर्देशन गरिएको बुझिएको छ। उपसभामुख रानालाई हटाउने विषयमा अहिले सत्तारुढ दल कांग्रेस-एमालेमा व्यापक छलफल भइरहेको छ।

यसअघि बुधबार बसेको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले उपसभामुख रानाले पदको गरिमा जोगाउन नसकेको निष्कर्ष निकालेको थियो। राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने तयारीमा सत्तारुढ दलहरू रहेका छन्।

Tags: