post-slider post-slider

पक्राउ पर्ने हल्ला चलेपछि जिबी र छविका 'पार्टनर' लामिछानेको बेचैनी

Image
A A

काठमाडौं- सहकारी ठगी आरोपमा कारबाही सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा 'न्यूयोर्कबाट आँखा नसन्काउनू' भनेका छन्।

आइतबार राति सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन भनेका छन्।

लामिछानेले भनेका छन्, ‘न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू,फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि...।’

आइतबार गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडिआइजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछाने निशानामा छन्। जोशी र जिबी राईका पार्टनर रहेका लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाभित्र खलबली मच्चिएको थियो।

पक्राउ पर्ने खबर मिडियामा एकपछि अर्को गर्दै आएपछि वनस्थलीस्थित पार्टी कार्यालयमा शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका थिए। छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफू नडराउने भन्दै पक्राउ गरे प्रतिवाद गर्ने घोषणा गरेका थिए।

यसैबीच, उपसभापति डा. स्वर्णीम वाग्लेसहित चीन गएको १० नेताको टोलीलाई पनि रास्वपाले जति सक्दो छिटो देश फर्किन निर्देशन दिएको छ। वाग्लेसहितको टोली सोमबार काठमाडौं आइपुग्ने बताइएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोरखा मिडिया नेटवर्कका सञ्चालक  जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा पेश गरिँदै छ।

काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्‍याइएको थियो। पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो।

जोशी पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई प्रहरीले निशानामा राखेको छ।  

Tags: