post-slider post-slider

‘यो समाचार हेरेर कान्छो घर फर्कियोस्’

Image
A A

महोत्तरी, माघ २७ - रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो। पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो। 

आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउँदै समाचार सुनिरहेको अझै ताजा छ।

युद्धकालीन उक्त समयमा दुर्गाकुमारीले परैबाट रेडियोमा आर्मी र माओवादीबीच भिडन्त भएको र मानिसहरू मरिरहेको सुनिन्। समाचार सकिसकेपछि रामबाबु नजिकै आएर भने, ‘आमा, म ठूलो दाजुलाई भेट्न लमजुङ जान्छु।’

रामबाबु केही दिनअगाडि मात्र काठमाडौंबाट क्याम्पस बिदाको मौका पारेर घर आएका थिए। त्यतिबेला गाउँमा युवाहरू कोही पनि थिएनन्। भएका युवाहरू कोही विदेश पलायन भएका थिए भने कतिपयलाई माओवादीले सशस्त्र युद्धमा सहभागी बनाउन जंगल लगेको थियो।

थोरै युवाहरूले मात्र आर्मी, प्रहरीमा जागिर खाएका थिए। त्यही पनि रामबाबुले जेठो दाजुलाई भेट्न बेसींसहर जान जिद्दी गर्न थाले।

त्यति टाढा उक्त भयावह अवस्थामा २२ वर्षीय कान्छो छोरा रामबाबुलाई पठाउन आमाको मन पटक्कै मानेको त थिएन। तर छोराको जिद्दीको अगाडि दुर्गाकुमारीको केही लागेन।

आकाश अन्धकार भएर पानी झर्न मात्र बाँकी थियो, प्रतिकूल वातावरणका बाबजुद पनि दाजु गोविन्द कार्कीलाई भेट्न आमाबुवासँग बिदाई भएर छुटेका छोरा एकाएक हराए। भाइ भेट्न आएको समाचार थाहा पाएपछि प्रतिक्षामा रहेका दाजुले भाइलाई न त भेट्न पाए, न त घर फर्किएर नै गए।

लमजुङको बेसींसहर दाजुलाई भेट्न गएका भाइ रामबाबु २२ वर्षदेखि घर फर्किएका छैनन्। उनी कहाँ छन्? कसरी हराए? मरेका होलान् कि बाँचेका होलान्? परिवारलाई चासो र चिन्ता त्यतिकै छ। 

अझ ८४ वर्षीया आमा छोरा घर आउने आशा बोकेर बाँचिरहेकी छन्। ‘बुढेसकाल भयो, आज मर्छु कि भोलि मर्छु जस्तो भएको छ, कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थें होला,' गहभरि आँशु बनाउँदै दुर्गाकुमारीले भनिन्, 'मरेको प्रमाणित भए बरू किरिया गर्थें।'

रामबाबुका दुई दाजु छन्। माइलो दाजु मोहन कार्की नेपाल आर्मीबाट रिटायर्ड भएका हुन् भने जेठा दाजु गोविन्द कार्की विद्युत प्राधिकरणबाट रिटायर्ड हुन्। 

दाजुहरूको जागिरकै कारणले रामबाबुलाई पढाइ-लेखाइमा त्यति समस्या पनि थिएन। काठमाडौंको एक क्याम्पसमा डिप्लोमा अध्ययन गर्दै गरेका रामबाबुको विषयमा परिवारले नराम्रो कहिल्यै सुनेनन्। 

दुर्गाकुमारीले बेपत्ता छोराको खोजी गरिदिन धेरै सरकारी संयन्त्रहरूलाई हारगुहार पनि नगरेकी हैनन्। तर कहीँ कतैबाट सुनुवाइ नभएपछि छोरा फर्कने आशा आजकाल उनको झिनो बन्दै गएको छ।

'आजकाल मोबाइलमा मान्छेहरू धमाधम भेटिएको देखिन्छ त्यही भएर मिडियामा आएँ,' दुर्गाकुमारीले भनिन्, 'अब अन्तिम आशा तपाईंहरू नै हो।'

कतिपय आफ्न्तहरूले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउँछन्। तर, दुर्गाकुमारीलाई भने अहिले पनि छोरा कतै जिउँदै छ भन्ने लाग्छ।

रामबाबुका बुवा डम्बरबहादुर कार्कीलाई पनि श्रीमतीले भनेजस्तै छोरा जिउँदै नै छन् भन्ने लाग्छ। 'कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर आओस्,' उनले भनिन्।

लमजुङमा सरकारी र विद्रोही पक्षको बेला-बेलामा भिडन्त भइरहन्थ्यो। जिल्लाको कतिपय ठाउँमा त त्यतिबेला कैयौं मानिसहरू मरेको समाचार पनि सुनिन्थ्यो। त्यसैले धेरै जनाले उक्त संक्रमणकालीन अवस्थामा लमजुङ जाँदा दोहोरो भिडन्तको क्रममा कतै मर्‍यो कि भन्ने पनि आशंका गर्छन्। 

परिवारलाई भने पत्यार नै लाग्दैन। 'मेरो हृदयले भन्छ छोरा घर फर्केर आउँछ,' दुर्गाकुमारीले भनिन्, 'अब भरोसा बाबुहरूको नै छ, समाचार हेरेर भए पनि छोरा घर फर्कनेछ।'

दुर्गाकुमारी आजकाल पहिला जसरी हिँडडुल पनि गर्न सक्दिनन्। लौरोको सहाराले यताउता हिँड्ने उनीलाई मात्र हैन, उनका श्रीमान डम्बरबहादुरलाई पनि लौरोको सहारा चाहिन्छ।

भाइ हराएपछि दाजु गोविन्दले पनि धेरै खोजी नगरेका हैनन्। संक्रमणकालीन अवस्थामा उनले माओवादी कमाण्डरहरूसँग सम्पर्क गरेर भाइको खोजी गरेका थिए। आर्मी, प्रहरीका उच्च पदस्थ व्यक्तित्वसँग पनि सोधपुछ गरे। तर भाइको विषयमा कसैले भन्न सकेनन्।

बेपत्ता छोराको फर्किने आशामा नै दुर्गाकुमारीले अंशबण्डा पनि गरेकी छैनन्। 'जेठो र माइलाले अब भाग लगाउनुपर्छ भन्छन् तर म मानेकी छैन,' उनले भनिन्, 'कमसे कम यकिन त हुनुपर्‍यो नि मरेको र बाँचेको।'

संक्रमणकालीन अवास्थामा बेपत्ता भएकाहरूको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ समेत जारी भएको छ। तर उक्त समयमा बेपत्ता भएकाहरूको नाम समेत सूचीकृत गरिएको छैन। आयोगमा अहिलेसम्म रामबाबुजस्ता बेपत्ता भएका परिवारले ३२८८ उजुरी दर्ता गरेका छन्।

आयोगमा दर्ता भएका ३२८८ उजुरीमध्ये ४१४ उजुरीहरू सत्य निरुपण तथा मेलगमलाप आयोगको क्षेत्राधिकार पर्नेगरी पठाइएकोमा १३७ उजुरीहरू फिर्ता आएको आयोगले अभिलेखमा उल्लेख छ।

जसमध्ये १३६ उजुरी दोहोरो परेको हुनाले लगता कट्टा गरिएको, २९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगबाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्यौट भएको र तामेलीमा राखिएकामध्ये ८ उजुरीहरूको कारबाही प्रक्रिया अगाडि बढाइएको आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक गरिएको विवरणमा जनाएको छ।

मधेश प्रदेशमा अहिलेसम्म २१५ उजुरी परेको आयोगले जनाएको छ। जसमध्ये विस्तृत छानबिनको लागि १५३, प्रारम्भिक छानबिनको लागि ७ वटा, तामेलीमा राखिएको १२ वटा, दोहोरो परेर लगत कट्टा गरिएको ६ वटा, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएका ३३ वटा छन्। जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भइसकेको छ।

तर, सूचनाको पहुँच तथा सरोकारवालाहरूको बेवास्ताले न रामबाबुजस्ता बेपत्ता व्यक्तिहरूको खोजबिन भएको छ न त कुनै अभिलेख नै राखिएको छ। त्यसैले, आमा दुर्गाकुमारी लगायत सम्पूर्ण परिवार बेपत्ता रामबाबुको स्थिति सार्वजनिक गर्न माग गरिरहेका छन्।

Tags: