post-slider post-slider

सुन तस्करी प्रकरण : सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउँदै

Image
A A

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करी प्रकरण अनुसन्धानको प्रतिवेदन बुधबार बुझाउँदै छ।

हङकङबाट तस्करी गरी ल्याइएको झन्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सिआइबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो।

मंगलबार प्रतिवेदन तयार पारेको सिआइबीले आज रायसहित अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो।

सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइने र त्यसअघि पत्रकार सम्मेलन गरेर यो प्रकरणबारे जानकारी दिइने बताएका छन्।

आरोपीहरूविरूद्ध संगठित अपराध, सुन चोरी पैठारीलगायतका कसुरमा मुद्दा चलाउन राय दिने सिआइबीले तयारी गरेको छ।

६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीले अहिलेसम्म ३१ जनालाई पक्राउ गरेकोमा ३० जना प्रहरी नियन्त्रणमा छन्। स्वास्थ्यका कारण एक जनालाई हिरासत बाहिर राखेर अनुसन्धान गरिएको थियो।

पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक रहेका छन्।

यो प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन्।

संगठित अपराध कसुरमा म्याद थप गरेर सिआइबीले घटनाको अनुसन्धान गरेको थियो। संगठित अपराधमा प्रहरीले अनुसन्धानका लागि ६० दिनको म्याद पाउँछ।

यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सिआइबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउन लागेको हो। सरकारी वकिल कार्यालयलाई मिसिल अध्ययन गर्न तीन दिन समय बाँकी हुन्छ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ‘ब्रेक सु’ मा हालेर ल्याइएको सुन सिनामंगलस्थित सडकबाट बरामद गरेको थियो।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरण अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो।

‘ब्रेक सु’ सहितको सुन १५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो ७१६ ग्राम फेला परेको थियो। 

सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ।

 

Tags: