post-slider post-slider

को हुन् युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाउने आरोपमा पक्राउ परेकी महिला?

Image
A A

काठमाडौं- युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीको हत्या गर्ने रूसी षडयन्त्रमा संलग्न भभएको आरोपमा एक महिला पक्राउ परेकी छन्।

जेलेन्सकीको हत्या गर्ने योजना बनाएको आरोपमा ती महिलालाई पक्राउ गरिएको युक्रेनको सुरक्षा निकायले जनाएको हो।

ती महिलाले गत जुन महिनामा बाढी प्रभावित क्षेत्र माइकोलाइभको भ्रमण गर्नुअघि जेलेन्सकीको यात्रा कार्यक्रम पत्ता लगाउने प्रयास गरेको सुरक्षा निकायको भनाइ छ।

युक्रेनले रूसलाई समर्थन गर्ने आफ्ना नागरिकलाई मस्कोको सेनालाई सहयोग गर्न सूचना प्र्रवाह गरेको आरोप लगाउँदै आएको छ।

जेलेन्सकीले एसबियुका प्रमुखले आफूलाई ‘धोकेबाजविरूद्धको लडाइँ’ बारे खबर गरेको भन्दै ती महिलाको गिरफ्तारीबारे आफूलाई जानकारी दिइएको पुष्टि गरेका छन्।

रूसले यो गिरफ्तारीबारे कुनै टिप्पणी गरेको छैन।

युक्रेनको सुरक्षासम्बन्धी निकाय एसबियुले एक विज्ञप्ति जारी गर्दै ती महिलालाई रूसीहरूलाई गुप्तचरी सूचना दिन खोज्दा ‘रंगेहात’ पक्राउ गरिएको जनाएको छ।

ती महिलाले दक्षिणी माइकोलाइभ क्षेत्रमा भ्रमणअघि नै त्यहाँको यात्रा योजना पत्ता लगाउन गुप्तचर सूचना संकलन गर्ने प्रयास गरेको उनीहरूको आरोप छ।

उनीहरूले एसबियुको भान्सामा उभिएकी संदिग्धको मुखौटासहितको तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा ती महिला र सँगै उभिएका अधिकारीहरू प्रस्ट देखिँदैनन्।

जेलेन्स्कीले कखोभ्का बाँध भत्किँदा भएको क्षति निरीक्षणका लागि गत जुन महिनामा माइकोलाइभको भ्रमण गरेका थिए। त्यसपछि जुलाईमा रूसको भारी गोलाबारीपछि उनी त्यहाँ पुगेका थिए।

सुरक्षा सेवा निकायले भ्रमणअघि नै आफू उक्त षडयन्त्रबारे जानकार रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ।

उक्त निकायले रूसले ‘माइकोलाइभ’ क्षेत्रमा ठूलो हवाइ आक्रमणको योजना बनाइरहेको’ र संदिग्ध महिलाले उनीहरूलाई युद्ध गतिविधिबारे विद्युतीय प्रणाली तथा गोलाबारूदसहितको गोदामका बारेमा जानकारी दिन खोजेको आरोप लगाइएको छ।

को हुन आरोपित महिला?

एसबियुका अनुसार संदिग्ध महिला ओचाकिएभ नामक सानो सहरकी बासिन्दा हुन् जहाँ जेलेन्स्कीले गत जुलाईमा भ्रमण गरेका थिए। उनी त्यहाँको एक सैन्य अखडामा रहेको पसलमा काम गर्थिन्।

भ्रमणका क्रममा एसबियुले संदिग्धलाई पक्राउ नगरी युक्रेनी राष्ट्रपतिमाथि हुनसक्ने आक्रमण रोक्ने उपाय अपनाएको बुझिएको छ।

एसबियुका अनुसार उसका केही प्रतिनिधिहरूले भ्रमणपछि ती महिलाको गतिविधि तथा रूसी पक्षबाट प्राप्त गरेका ‘जिम्मेवारीहरू’ बारे थप जानकारी लिन उनलाई पछ्याए।

विज्ञप्तिमा संदिग्धले उक्त क्षेत्रमा गाडी चलाएको र युक्रेनी सैन्य सुविधाको फोटो तथा भिडियो खिचेको जनाइएको छ।

उनीमाथि हतियार र सैनिकको गतिविधिबारे अनधिकृत रूपमा सूचना सम्पे्रषण गरेको आरोप लाग्ने अनुमान गरिएको छ।

दोषी ठहर भएको खण्डमा उनलाई १२ वर्षसम्म जेल सजाय हुनसक्छ।

युक्रेनी सुरक्षा बलले रूसी हवाइ आक्रमणको लक्ष्य पत्ता लगाउन मदत गर्ने कथित ‘रूसी एजेन्टहरू’ लाई धेरै पटक गिरफ्तार गरेको छ।

किन महत्वपूर्ण थियो जेलेन्स्कीले भ्रमण गरेको ठाउँ?

दक्षिणी युक्रेनको रूस नियन्त्रित क्षेत्रमा रहेको एउटा प्रमुख बाँध भत्किएपछि त्यहाँ बाढी आएको थियो।

युद्धको सुरूमा खेअर्सन आसपासको क्षेत्र कब्जा गर्दा रूसी फौजले त्यसलाई समेत नियन्त्रण गरेका थिए।

‘काखोभ्का हाइड्रोइलेक्ट्रिक पावर प्लान्ट’ का बाँध रूसले कब्जा गरेको क्षेत्रमा छ। सोभियत कालमा निर्मित उक्त बाँध डनिप्रो नदीमा रहेका ६ वटा बाँधहरूमध्येको एक हो।

बाँध रहेकोभन्दा ५० किलोमिटरभन्दा कम दूरीमा तल्लो तटीय क्षेत्रमा खेखर्सन सहर पर्छ।

युक्रेनी सेना र नेटोले उक्त विशाल बाँधमा रूसले बम विस्फोट गराएको आरोप लगाएका थिए।

रूसले भने वरपरका समुदायमा हजारौं मानिसहरूलाई विस्थापित गर्ने गरी भएको विपत्तिका लागि युक्रेनलाई दोष दिएको थियो। 

 

Tags: