.png)

बालकोटमा हुलाकका सुब्बा बाबु-छोराको ‘रहस्यमय’ हत्या

भक्तपुर - भक्तपुरको बालकोटमा हुलाकका कर्मचारी बाबु-छोराको हत्या भएको छ।
सूर्यविनायक-२ बालकोट फिकाधारामा हुलाक कार्यालय खोटाङ दिक्तेलका सुब्बा ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्यको हत्या भएको हो।
सोमबार बिहान ९:५० मा रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका आचार्य बाबु-छोराको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
कार्यालयको कामको सिलसिलामा आचार्य छोरा डेरा गरी बस्ने घरमा आउँदा हत्या भएको परिसर प्रवक्ता ढुण्डीराज न्यौपानेले बताए।
उनका अनुसार दुबै बाबु-छोरा अलग-अलग कोठामा सुतेका थिए। उनीहरूको टाउकोमा चोट छ।
‘केही गह्रौं चिजले हिर्काएर हत्या गरेको आशंका हाम्रो छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आइसकेको छैन।’
प्रवीन कुलप्रसादका कान्छा छोरा हुन्। घटनापछि कुलप्रसादका जेठा छोरा मिलन फरार छन्।
‘फरार व्यक्तिको खोजीमा प्रहरी लागिरहेको छ, घटनाको कारण खुल्न सकेको छैन,’ न्यौपानेले भने।
घटना शनिबार राति भएको आशंका गरिएको छ। आइतबार बिहानदेखि उनीहरू बस्दै आएको कोठामा ताला लागेको थियो।
सोमबार बिहानसम्म ताला नखुलेपछि त्यही घरमा बस्ने अन्य व्यक्तिले प्रहरीलाई खबर गरेका थिए।
ढोकाको ताला फुटाएर भित्र छिर्दा शव फेला परेका थिए। घटनाको प्रकृति हेर्दा ‘रहस्यमय’ देखिएको छ। जेठा छोरा फरार हुनुले घटनालाई ‘रहस्यमय’ बनाएको प्रहरीको दाबी छ।
हुलाक कर्मचारी आचार्य गत पुस २ गते काठमाडौं आएका थिए। भुइँ तलाको पहिलो फ्ल्याटका दुई वटा कोठामा मिलन र प्रवीन बस्दै आएका थिए।
कार्यालयको काममा आएका आचार्य अध्ययन सिलसिलामा बालकोटमा बस्दै आएका छोरालाई भेट्न पुगेका थिए। आचार्यका दुई छोरी एक नायब सुब्बा र अर्की अष्ट्रेलियामा छिन्। खोटाङमा आचार्यका दम्पती मात्रै बस्दै आएका थिए।