post-slider post-slider

गठबन्धनको सरकार पाँच वर्ष चल्छ : निधि

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शंका नरहेको बताएका छन्।

नेपाल प्रेस युनियन धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता निधिले नेतृत्व फेरिए पनि गठबन्धनको सरकार रहिरने बताएका हुन्।

‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ त्यसमा कुनै द्विविधा नराखे हुन्छ,’ निधिले भने,‘पहिलो चरणमा प्रचण्डजी, त्यसपछि माधवजी र अन्तिम चरणमा शेरबहादुरजीले नेतृत्व गर्ने पूर्वसहमति नै छ। त्यसअनुसार सरकारको नेतृत्व परिवर्तन हुनसक्छ। तर, गठबन्धनमा हेरफेरको सम्भावना छैन।’

उनले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउने हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारे।

निधिले सहमतिअनुसार सरकारको नेतृत्व फेरिए पनि राजनीतिक स्थायित्वका लागि अहिलेको संसद पाँच वर्ष चल्नुपर्नेमा आफूहरू प्रष्ट रहेको बताए।

राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायतका कुराहरू सामान्य भएको उनले उल्लेख गरे।

निधिले राष्ट्रपति रामचन्द्र पौडेल आगामी असोज ८ गते जनकपुरधाम आउन लागेको जानकारी दिए।

जानकी मन्दिरमा पूजाअर्चना गर्न राष्ट्रपति पौडेल जनकपुरधाम आउन लागेको उनले बताए।

‘यसअघि उहाँको जनकपुर भ्रमण मौसमको खराबीका कारण स्थगित भयो। असोज ८ गते जनकपुर आउने तय भएको छ,’ निधिले भने,‘जनकपुरधाममा उहाँको नागरिक अभिनन्दन होस् भन्ने मेरो आग्रह छ।’

नागरिकता विधेयक प्रमाणीकरण गरेर लामो समयदेखि रहेको नागरिकता समस्या समाधान गर्न सहयोग गरेकाले पनि जनकपुरमा राष्ट्रपतिको नागरिक अभिनन्दन हुनुपर्ने उनको भनाइ थियो।

निधिले जनकपुरधाममा निर्माण हुन लागेको राम जानकी स्टेडियम देशकै सबैभन्दा ठूलो र अन्तर्राष्ट्रियस्तरको बनोस् भन्ने आफ्नो चाहना रहेको बताए।

जनकपुर भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोगका लागि घोषणा गरेको सय करोड रूपैयाँ स्टेडियम निर्माणमै खर्च हुने टुंगो लागेको उनले जानकारी दिए।

‘सय करोड रूपैयाँ कहाँ खर्च गर्ने स्पष्ट थिएन। भारतीय राजदूतसँग यो विषयमा कुरा भएको छ। उहाँले स्टेडियम निर्माणका लागि प्रस्ताव पठाउन आग्रह गर्नु भएको छ,’ निधिले भने,‘डिपिआर गरेर प्रस्ताव पठाउन भन्नु भएको छ। थप रकमको आवश्यक्ता भए त्यसका लागि पनि भारत सरकार तयार रहेको आश्वासन दिनुभएको छ।’

विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न उनले आग्रह गरे।

 

Tags: