post-slider post-slider

युरोपमा भारतको डिजल ढुवानी ९० प्रतिशतले घट्यो, हुथी विद्रोहीको आक्रमण मुख्य कारण

Image
A A

काठमाडौं, फागुन ८ (एजेन्सी) - भारतबाट युरोपमा डिजेलको आपूर्ति पछिल्लो दुई वर्षयताकै न्यून बिन्दुमा पुगेको छ।

अमेरिकी मिडिया ब्लुमबर्गको रिपोर्टअनुसार लाल सागरमा हुथी विद्रोहीको लगातार आक्रमणका कारण अन्तर्राष्ट्रिय व्यापारमा गहिरो असर परेको छ।

एसियाबाट युरोपियन युनियन (इयू) र बेलायत जाने कार्गोको ढुवानी शुल्क बढेको छ। यस्तो अवस्थामा पश्चिमा देशको सट्टा एसियामा सामान पठाउनु किफायती भएको छ।

भोर्टेक्सा लिमिटेडको तथ्यांकलाई उद्धृत गर्दै ब्लुमबर्गले भनेको छ – फेब्रुअरीको पहिलो दुई हप्तामा भारतबाट दैनिक १८ हजार ब्यारेल डिजेल युरोप पुगेको छ। यो जनवरीको औसत डेलिभरीको तुलनामा करिब ९० प्रतिशत कम हो।

स्पार्टा कमोडिटीका विश्लेषक नोएल–बेस्विकले भने सिङ्गापुरजस्ता पूर्वी देशको निर्यात पश्चिमी मुलुकको तुलनामा निकै राम्रो भएको बताएका छन्। हुथीहरूको डरले युरोप वा एट्लान्टिक बेसिनतर्फ जाने ट्याङ्करहरू दक्षिण अफ्रिकाको केप अफ गुड होप हुँदै जानुपर्ने भएको छ।

जसका कारण दुरी बढाएको र जसको प्रत्यक्ष असर लागतमा परेको छ। साथै, धेरैपटक उनीहरूले स्वेज नहरको बाटो लिनुपर्ने भएकाले जहाँ लडाइँको जोखिमलाई ध्यानमा राखेर बिमा शुल्क पनि बढी भएको छ। यी सबै कारणले गर्दा ढुवानी शुल्क बढिरहेको छ।  

फेब्रुअरीमा भारतबाट डिजेल युरोपेली संघको कुनै पनि देशमा पुगेको छैन।

तथ्यांकअनुसार फेब्रुअरीमा डिजेलको एउटा जहाज मात्र बेलायत पुगेको थियो। इयूमा यसको कुनै आपूर्ति थिएन। तर, हालै मार्लिन सिसिली र मार्लिन ला प्लाटा नामक दुई वटा जहाजले भारतबाट ब्यारेल लोड गरेका छन्, जुन यसै महिनाको अन्त्यसम्ममा नेदरल्याण्डको रोटरडम पुग्ने छ।

अर्कोतर्फ, फेब्रुअरीमा भारतबाट एसियाली मुलुकतर्फ आउने डिजेल कार्गोको सङ्ख्यामा वृद्धि भएको छ। यीमध्ये केही ढुवानी बंगलादेश र साउदी अरबमा पनि पुगेका छन्। पिस भिक्टोरिया र ओरेन्ज भिक्टोरियाजस्ता जहाजहरूमा लोड गरिएका सामानहरू पूर्वी एसियामा पुर्‍याइएको छ।

भारतको ८० प्रतिशत व्यापार समुद्री मार्गबाट

१२ र ३० प्रतिशतको बीचमा विश्वव्यापी व्यापार र कन्टेनर ट्राफिक प्रत्येक वर्ष लाल सागरको स्वेज नहर हुँदै जान्छ। हुथी विद्रोहीको आक्रमणका कारण युरोप र एसियाबीचको मुख्य मार्गमा हुने अन्तर्राष्ट्रिय व्यापारमा समस्या आएको छ।

भारतको ८० प्रतिशत व्यापार समुद्री मार्गबाट ​​हुने गरेको छ। त्यस्तै, ९० प्रतिशत इन्धन पनि समुद्री मार्गबाट ​​आउँछ। सामुद्रिक मार्गमा भएको आक्रमणको प्रत्यक्ष असर भारतको व्यापारमा परेको छ। यसबाट आपूर्ति शृंखला बिग्रने खतरा बढेको छ।

हुथीविरुद्ध लड्न अमेरिका र बेलायतले पनि कारबाही गरिरहेका छन्। यी दुवै देशले मिलेर यमनमा हुथी विद्रोहीमाथि तीन पटक हमला गरिसकेका छन्। यसबाहेक अमेरिकाले करिब १० देशहरूसँग गठबन्धन पनि बनाएको छ, जसले लाल सागरमा हुथीहरूलाई रोक्न र कार्गो जहाजहरूलाई आक्रमणबाट बचाउन काम गरिरहेको छ।

यसअघि शुक्रबार हुथी विद्रोहीले लाल सागरमा भारततर्फ आउँदै गरेको तेल ट्याङ्करमा मिसाइल हमला गरेका थिए। रोयटर्सको रिपोर्टका अनुसार क्षेप्यास्त्र यमनबाट प्रक्षेपण गरिएको थियो, जसले व्यापारी जहाज पोलक्सको एक भागमा प्रहार गरेको थियो। पनामा झण्डा भएको जहाज रुसबाट भारत आउँदै थियो।

पोलक्स जहाजले रुसको ब्ल्याक सी बन्दरगाहबाट जनवरी २४ मा यात्रा सुरू गरेको थियो। यो भारतको पारादीप बन्दरगाह पुग्ने कार्यक्रम थियो, जहाँ यसले २८ फेब्रुअरीमा कच्चा तेल पुर्‍याउने थियो। फेब्रुअरी ६ मा पनि हुथीहरूले अमेरिकाबाट भारत आउँदै गरेको जहाजलाई निशाना बनाएका थिए।

Tags: