post-slider post-slider

भ्रमण भिसा प्रकरण : एक हजार पाँच सयमा २४६ नक्कली

Image
A A

काठमाडौं- भ्रमण भिसामा विदेश जान लागेको १ हजार पाँच सय युवाभन्दा बढीको कागजात अध्ययन गर्दा २ सय जनाको कागजात नक्कली फेला परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा संगठितरूपमा नक्कली कागजात बनाइ भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको हो।

यसरी मिलेमतोमा विदेसियाका अधिकांश त्यहाँ घुम्नका लागि नभइ कामका लागि जाने गरेका छन्।

यो प्रकरणमा प्रहरीले गएको असोजदेखि अनुसन्धान थालेको थियो। १ हजार १२ जनाको कागजात अध्ययन गर्दा त्यसमध्ये २४६ जनाको प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली देखिएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका छन्।

कागजात बनाउने व्यक्तिको पहिचान गर्ने र नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा सबै मिलेमतोमा काम हुने गरेको पाइएको छ।

त्यसरी अनुसन्धानका क्रममा सरकारी कर्मचारीसहित एजेन्ट, कन्सल्टेन्सी, ट्राभल एजेन्सीहरूले एयरलाइन्सलाई प्रतिव्यक्ति रू.१० देखि १५ हजार र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति रू.४० देखि ५५ हजार दिएर मिलेमतोमा पठाउने गरेको पाइएको छ।

अध्यागनम कर्मचारीसँग मिलेमतोमा नक्कली कागजातका आधारमा विदेश पठाउने र विदेश पुगेपछि महिलालाई घरेलु कामदारका रूपमा लगाइने र शोषसमेत हुने तथा पुरुषलेसमेत तोकिएको काम नपाइ जोखिमपूर्ण काममा लगाइने गरेको पाइएको छ।

त्यसरी गएकालाई पछि स्वेदश फर्काउनसमेत कठिनाइ हुने गरेको प्रहरीको निष्कर्ष छ।

अनुसन्धानका क्रममा घटनामा संलग्न भएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई पक्राउ गरी अनुसन्धान गर्दा उनले यसरी मिलेमतोमा ३ सय जना पठाएको पाइएको छ।

यस्तै निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र उनकै ट्राभल्समा काम गर्ने उनकै सालो पदम लामालाई पक्राउ गरी लिखितसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यही कार्यमा संलग्न रहेको आरोपमा नेपाल एयरलाइन्सका अरविन्द यादव, होम पोखरेल, ट्राभल्स एजेन्सीका मनुराम चौधरी, स्काइ ट्राभल्स एन्ड टुर्सका दिनेश ज्ञवाली, रोयल ट्राभल्सका सञ्चालक देवराज खनालसहित गणेश पाण्डे, सञ्जय तामाङ, रामप्रसाद भण्डारी, सारोजकुमार यादव, राजकिशोर साह, रविन अर्याललगायतलाई पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ।

 

Tags: