post-slider post-slider

त्रिवि उपकुलपति नियुक्तिको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशन

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालका उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएका छन्।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रचण्डले विज्ञापन सच्चाउन निर्देशन दिएका हुन्।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरूको छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएका छन्।

आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउने खोजेको उनको भनाइ थियो।

शुक्रबार छनोट तथा सिफारिस समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरो खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने भनिएको थियो।

यो सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रचण्डले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएका हुन्।

त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले ‘मेरिटोक्रेसी’ मा सिन्डिकेट लगाउने उनको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन निकाल्न शिक्षा मन्त्रालयमार्फत समितिलाई निर्देशन दिए।

उनले स्वदेश तथा विदेशमा रहेका जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्नसक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिएका छन्।

 

Tags: