post-slider post-slider

राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै, चुनावको तयारीमा जुट्यो आयोग

Image
A A

काठमाडौं- निर्वाचन आयोग राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सदस्यका लागि चुनावको तयारीमा जुटेको छ।

फागुन २० गते पदावधि सकिन लागेको राष्ट्रियसभाका १९ सदस्यका लागि आयोग चुनावको तयारीमा जुटेको हो।

आगामी फागुन २० गते राष्ट्रियसभामा १९ सांसदको पद रिक्त हुँदैछ। राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिनाअगाडि निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ।

आगामी फागुन २० मा एमालेका ९, नेपाली कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ गरी २० सांसदको पदावधि सकिँदैछ।

एमालेबाट राष्ट्रियसभा अध्यक्षसमेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नवरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्यालको पदावधि सकिँदैछ।

दिलकुमारी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति हुन् भने पौड्याल राष्ट्रपतिबाट मनोनित सदस्य हुन्।

यस्तै कांग्रेसका रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि पनि सकिँदैछ।

रायमाझी कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता हुन् भने पन्थ दिगो विकास तथा सुशासन समिति सभापति हुन्।

माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी तथा एकीकृत समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्माको पनि फागुन २० मा पदावधि सकिँदैछ।

जसपाका प्रमिलाकुमारी यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि फागुन २० गते बिदा हुँदैछन्।

जसपाकी प्रमिला अहिले राज्यमन्त्री छिन्।

रिक्त हुन लागेका राष्ट्रियसभा सदस्यका लागि चुनाव गराउन निर्वाचन आयोगले मिति प्रस्ताव गरेको छ।

बुधबार प्रतिनिधिसभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी माघ दोस्रो साताका लागि निर्वाचनको मिति प्रस्ताव गरेका हुन्।

निर्वाचन आयोगले मिति प्रस्ताव गरेपछि मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्नेछ।

 

Tags: