post-slider post-slider

भारतमा भाजपालाई बहुमतमा लाग्यो धक्का!

Image
A A

काठमाडौं- भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ। आज बिहान ८ बजेदेखि सुरू भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ।

५४३ सदस्यीय लोकसभामा बहुमतको लागि २७२ सांसद आवश्यक हुनेमा भाजपा अहिलेसम्म २४१ सिटमा मात्र अगाडि रहेको छ। २०१९ को निर्वाचनमा भाजपाले ३०३ सिट जितेको थियो।

त्यस्तै, भाजपा नेतृत्वको एनडिए गठबन्धन भने अहिले २९४ सिटमा अगाडी रहेको छ।

त्यस्तै, विपक्षी दलको गठबन्धन इन्डियाले अहिलेसम्म २३२ सिटमा अग्रता बनाएको छ। इन्डिया गठबन्धनले भारतको उत्तर प्रदेश, महाराष्ट्र र पश्चिम बङ्गालमा ठुलो अग्रता हासिल गरेको छ।

सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

भारतमा लोकसभाको निर्वाचन १९ अप्रिलदेखि १ जुनसम्म गरी सात चरणमा भएको थियो। यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया चार महिनासम्म चलेको थियो। जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो।

२०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो। यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्मस्टार र २ पूर्वक्रिकेटर चुनावी मैदानमा थिए।

चुनाव सम्पन्न भएपछि सार्वजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि अत्यधिक बहुमतसहित सत्तामै रहने आँकलन गरेका छन्।

५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ।

त्यस्तै, विपक्षी इण्डिया गठबन्धनले भने आफूहरूको कम्तीमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबी गर्दै आएका छन्।

Tags: