post-slider post-slider

अब्दुल कलामको ९४औं जन्मजयन्तीमा डा. प्रदीप खनाललाई ‘विश्व आध्यात्मिक दूत’ सम्मान

Image

काठमाडौं - भारतका पूर्वराष्ट्रपति तथा “भारतका मिसाइल म्यान” भारतरत्न डा. एपीजे अब्दुल कलामको ९४औं जन्मजयन्तीको अवसरमा तीन दिने भव्य कार्यक्रम नयाँदिल्लीस्थित एनसियुआई अडिटोरियममा १३ देखि १५ अक्टोबर २०२५ सम्म सम्पन्न भयो।

भारतका शीर्ष वैज्ञानिक, आध्यात्मिक गुरू, शिक्षाविद् र युवा नेताहरूको सहभागिता रहेको उक्त कार्यक्रम प्रेरणादायी र गौरवपूर्ण बनेको थियो।

कार्यक्रममा भारत सरकारका युवा मामिला तथा खेलकुद मन्त्री रक्षा निखिल खडसे, डा. पी वीरमुथुवेल (परियोजना निर्देशक, चन्द्रयान–३), डा. निङ्गर शाजी (परियोजना निर्देशक, आदित्य–११), डा. एपीजे एमजे शेख सलीम (डा. एपीजे अब्दुल कलाम इन्टरनेशनल फाउन्डेशनका सह–संस्थापक), डा. एसएस अग्रवाल तथा आध्यात्मिक जगतका व्यक्तित्व जगतगुरु जगन स्वामीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको विशेष क्षणमा डा. प्रदीप खनाललाई विश्व आध्यात्मिकता, अन्तरधार्मिक सद्भाव र अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप ‘विश्व आध्यात्मिक दूत’ उपाधिले सम्मानित गरियो।

काठमाडौं निवासी डा. खनालले विगत एक वर्षमा भारत, नेपाल, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र तिब्बत (चीन) गरी ४५० भन्दा बढी तीर्थस्थलहरूको दर्शन–यात्रा सम्पन्न गरेका थिए।

यो ऐतिहासिक यात्राले उनलाई जगतगुरु आदि शंकराचार्य र गुरुनानक देवजीपछि यस्तो वैश्विक आध्यात्मिक परिक्रमा सम्पन्न गर्ने पहिलो व्यक्तित्वका रूपमा स्थापित गरेको हो।

वक्ताहरूले डा. खनालको यस उपलब्धिलाई दक्षिण एसियाली आध्यात्मिक सम्बन्ध, धार्मिक पर्यटन र विश्व शान्तिको सेतुका रूपमा व्याख्या गरे।

तीन दिनसम्म चलेको यस समारोहमा भारतका ४०० भन्दा बढी विद्यालय र कलेजका विद्यार्थीहरू सहभागी थिए। डा. कलामको “विज्ञान र अध्यात्मबीचको सेतु निर्माण” दृष्टिकोणलाई आत्मसात गर्दै,विज्ञान, सामाजिक नेतृत्व र मानव कल्याणमा योगदान पुर्‍याउने युवा आविष्कारक र नवप्रवर्तकहरूलाई पनि सम्मानित गरियो।

समारोहको समापन सत्रमा डा. कलामको “ज्ञान, विज्ञान र मानवता” सम्बन्धी दृष्टिकोणमा आधारित विशेष छलफल भयो। वक्ताहरूले उनको “राष्ट्र निर्माणमा युवा शक्तिको भूमिका” भन्ने अमर सन्देशलाई पुनः स्मरण गर्दै, उनका आदर्शहरूलाई व्यवहारमा उतार्न सबैलाई आह्वान गरे।

यो ऐतिहासिक कार्यक्रमले विज्ञान, शिक्षा, अध्यात्म र मानवीय मूल्यहरूलाई एक सूत्रमा बाँध्दै डा. एपीजे अब्दुल कलामको स्मृतिलाई समर्पित वैज्ञानिक–आध्यात्मिक एकताको नयाँ अध्याय खोलेको छ।

Tags: